site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले चीनविरुद्धको आयातकर ६० प्रतिशतभन्दा तल झार्ने 

काठमाडौं । चीनविरुद्ध लगाएको आयातकर १४५ प्रतिशतबाट घटाएर ६० प्रतिशतभन्दा तल झार्न अमेरिकाले तयारी गरेको छ । डोनाल्ड ट्रम्प प्रशासनले चीनसँगको व्यापार वार्तापछि कर घटाउने योजना बनाइरहेको ब्लुम्बर्ग अनलाइनले जनाएको छ । 

यसले दुई देशबीचको व्यापार तनाव कम गर्न र दुवै अर्थतन्त्रमा परेको असरलाई न्यून गर्न सक्ने अपेक्षा गरिएको याहु न्युजले जनाएको छ । दुई देशबीचको व्यापार वार्ता शनिबार जेनेभामा सुरु हुने तय भएको छ । 

सो वार्तामा अमेरिकाको नेतृत्व अर्थसचिव स्कट बेसेन्टले गर्नेछन् भने र चीनको नेतृत्व उपप्रधानमन्त्री हे लिफेङले गर्नेछन् । 

अमेरिकी टोलीले चीनबाट आयात हुने सामानमा लागु गरिएको १४५ प्रतिशत आयात करलाई घटाउने प्रस्ताव ल्याउने तयारी गरेको बताइएको छ । यसको सट्टामा चीनले पनि अमेरिकी सामानमा लगाएको १२५ प्रतिशत आयात कर घटाउने अपेक्षा गरिएको छ ।

यसका साथै, अमेरिकी पक्षले चीनसँग उच्च प्रविधि उत्पादनमा अत्यावश्यक मानिने दुर्लभ खनिजको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन अनुरोध गर्ने योजना बनाएको छ ।

राष्ट्रपति ट्रम्पले बिहीबार भनेका थिए, “हामीलाई थाहा छ, आयात करहरू घट्दै छन् ।” यसले अमेरिकी पक्ष आयात कर घटाउने प्रस्ताव ल्याउने तयारीमा छ भन्ने संकेत गर्ने बताइएको छ ।

चीनले पनि केही अमेरिकी सामानमा लगाइएको १२५ प्रतिशत आयात करबाट छुट दिने सूची तयार पारेको बताइएको छ । यसले व्यापार तनाव कम गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

राष्ट्रपति ट्रम्पले प्रारम्भिक वार्तापछि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने संकेत दिएको बताइएको छ । यदि वार्ता सकारात्मक दिशामा अघि बढ्यो भने १४५ प्रतिशत आयातकर घटाउने सम्भावना पनि उनले व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्