site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कुलमान घिसिङकालीन श्वेतपत्र– प्राधिकरणको खातामा १० अर्ब १० करोड मौज्दात 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङका कार्यकालमा भए/गरेका अवस्था देखाउन प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको सोमबारको बैठकपछि श्वेतपत्र सार्वजनिक गर्ने योजना छ ।

बाह्रखरीलाई प्राप्त श्वेतपत्रमा आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्म नाफा नौ अर्ब ४८ रुपैयाँ करोड छ ।

श्वेतपत्रमा आयकर ऐनको प्रावधानअनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन समय दिएको र उक्त समयमा उच्च ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गर्दा कुल ५ अर्ब २६ करोडको नोक्सनी देखाइएको छ ।

श्वेतपत्रअनुसार आर्थिक वर्ष ०८०/०८१ सम्ममा कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब छ ।  जसमा स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रहेकामा पुनर्मूल्याङ्कनबाट करिब ९९ अर्ब ४६ करोड थप भएको र लेखांकन बाँँकी उल्लेख छ । 

करिब २ खर्ब २० अर्ब बराबरका निर्माणाधीन आयोजना भएको उल्लेख छ । नेपाल सरकारको प्राधिकरणमा २ खर्ब ६ अर्ब ७४ करोड सेयर लगानी रहेको उल्लेख छ । संचित नाफा ४६ अर्ब ४७ करोड र अन्य जगेडातर्फ ५ अर्ब ८९ करोड गरी जम्मा इक्विटी २ खर्ब ५९ अर्ब १० करोड रहेको श्वेतपत्रमा उल्लेख छ ।

प्राधिकरणमा सरकारको ३९ प्रतिशत सम्पत्ति अर्थात् कुल २ खर्ब ४८ अर्ब १२ करोड ऋण लगानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

चालु आर्थिक वर्षको फागुनसम्म ठेक्कापट्टामा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी दायित्व देखाइएको छ । उक्त रकमको भुक्तानी दिन नसकिएको उल्लेख छ ।

सार्वजनिक गर्न लागिएको श्वेतपत्रअनुसार, प्राधिकरणको केन्द्रीय कोषमा करिब १० अर्ब १० करोड रकम मौज्दात छ । मुद्दति खातामा ३ अर्ब ६८ करोड, धरौटी खातामा ३ अर्ब ९५ करोड र चालु खातामा २ अर्ब ४७ करोड रुपैयाँ छ ।

आर्थिक वर्ष ०८०/०८१ सम्मको कर्मचारीतर्फको अल्पकालीन तथा दीर्घकालीन दायित्ववापत ४७ अर्व २४ करोड र धरौटीवापत २४ अर्ब ११ करोड दायित्व देखाइएको छ ।  सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको व्याज २९ अर्ब ५ करोड र टनकपुर विद्युतवापत ३ अर्ब गरी कुल ३२ अर्ब ५ करोड रुपैयाँ दायित्व बाँकी छ ।

सरकारको आन्तरिक श्रोततर्फ ७७ अर्ब ८ करोड र सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड गरी २ खर्ब ४८ अर्व १२ करोड दीर्घकालीन ऋण भएको उल्लेख छ ।

स्वेतपत्रमा, प्राधिकरणले सहायक तथा सम्बद्ध कम्पनीहरूको प्रवद्र्धन गर्न कूल ४१ अर्ब १३ करोड बराबरको संस्थागत जमानत प्रदान गरेको उल्लेख छ । २०८१ फागुनसम्म डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोडसहित प्राधिकरणको जम्मा बक्यौता ४४ अर्ब ५४ करोड भएको उल्लेख छ ।

कोभिड छुट, चिस्यान केन्द्रलगायत शीर्षकमा दिइएको छुटवापतको रकम १४ अर्ब १० करोड बराबरको रकम सरकारबाट शोधभर्ना प्राप्त गर्न बाँकी छ । यसरी डेडिकेटेड फिडर तथा ट्रंक लाइनतर्फको र अन्यसहित बक्यौता ३२ अर्व ५ करोड छ भने बाँकी १२ अर्ब ४९ करोड नियमिततर्फको बक्यौता भएको उल्लेख छ ।

आर्थिक वर्ष ०८१/८२ का लागि प्राधिकरणको प्रक्षेपित आयको श्रोत १ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ भएको उल्लेख छ । तर, २०८१/८२ को स्वीकृत बजेट खर्च २ खर्ब २८ अर्ब ७७ करोड रुपैयाँ छ ।

यसमध्ये सरकारबाट विगतमा शोधभर्ना पाउनुपर्ने रकम १४ अर्ब १० करोड रातो किताबमा समावेश नभएकै अवस्थामा समेत प्राधिकरणको बजेटमा समावेश गरिएको छ ।  डेडिकेटेड फिडर र ट्रक लाइनतर्फको बाँकी बक्यौता समेत अनुमानित आयमा समावेश गरी बजेट कायम भएको देखाइएको छ । 

प्रक्षेपित आयमा विद्युत बिक्रीको अनुमान पनि बढी भएको र गत असोजको बाढीबाट उत्पादन केन्द्रमा भएको क्षतिका कारण निर्यात घटेको र आन्तरिक बिक्रीसमेत कम हुन गएबाट वास्तविक बिक्री करिब १८ अर्व न्यून हुन जाने स्वेतपत्रमा उल्लेख गरिएको छ ।

स्रोत अभाव भएको १० अर्ब रुपैयाँसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढेको उल्लेख छ । सरकारको आन्तरिक स्रोततर्फ विनियोजित रकम ४ अर्ब २६ करोड रुपैयाँ विगत वर्षहरूको तुलनामा अत्यन्त न्यून छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्