site stats
बाह्रखरी :: Baahrakhari
विदेश
उत्तर कोरियाद्वारा रूसको पक्षमा युक्रेनविरुद्ध लड्न सैनिक पठाएको पुष्टि

काठमाडौं । उत्तर कोरियाले पहिलो पटक युक्रेनविरुद्ध रूसको पक्षमा लड्न सैनिक पठाएको पुष्टि गरेको छ । 

उत्तर कोरियाली समाचार संस्था केसीएनएको रिपोर्टअनुसार उत्तर कोरियाको सैन्यले नेता किम जोङ उनको आदेशअनुसार उत्तर कोरियाली सैनिकहरूले रूसी सुरक्षाबललाई कुर्स्क सीमावर्ती क्षेत्र पूर्ण रूपमा युक्रेनको कब्जाबाट मुक्त गर्न मद्दत गरेको दाबी गरेको छ ।

Argakhachi Cement Island Ad

कुर्स्क क्षेत्र युक्रेनको कब्जाबाट मुक्त गरेको घोषणा गरिरहेका बेला रूसी सेना प्रमुख वालेरी गेरासिमोभले रूसी प्रतिआक्रमणका बेला उत्तर कोरियाली सैनिकहरूको वीरता प्रदर्शन गरेको भन्दै प्रशंसा गरेको केही दिनपछि उत्तर कोरियाको भनाइ आएको बीबीसीले जनाएको छ । 

रुसले उत्तर कोरियाको संलग्नता सार्वजनिक रूपमा स्वीकारेको यो पहिलो पटक  भएको बताइएको छ ।  रुसी सेना प्रमुखले पश्चिमी कुस्र्क क्षेत्रमा पूर्ण नियन्त्रण कायम गरेको दाबी गरे पनि युक्रेनले भने अस्वीकार गरेको छ ।

दक्षिण कोरियाली र पश्चिमी गुप्तचरहरूले धेरै अघिदेखि उत्तर कोरियाले कुर्स्कमा हजारौं सैनिक पठाएको छ दाबी गरेका थिए । उत्तर कोरियाली समाचार संस्था केसीएनएले सैनिक तैनाथीको निर्णय प्योङयाङ र मस्कोबीचको परस्पर रक्षा सन्धिअनुसार भएको बताएको छ ।

किम जोङ उनले न्यायको लागि लडेका यी सबै वीरहरू राष्ट्रको गौरवका प्रतिनिधिको संज्ञा दिएको केसीएनएले उल्लेख गरेको छ । केसीएनएले कुस्र्कमा मिशन समाप्त भएपछि उत्तर कोरियाली सैनिकहरूको योजना अब के हुनेछ भन्ने बारेमा कुनै विवरण दिएको छैन ।

किम र पुटिनबीचको द्विपक्षीय सम्बन्ध गहिरदै जाँदा अक्टोबरमा उत्तर कोरियाली सैनिक तैनाथीको रिपोर्ट बाहिर आएको थियो । यसले रूसी नेता भ्लादिमिर पुटिन र उत्तरकोरियाली नेता किम दुबैले आक्रमणको सामना गर्दा एकअर्कालाई समर्थन गर्ने सहमति गरेको बताइएको छ ।

गत जनवरीमा पश्चिमा अधिकारीहरूले बीबीसीलाई बताएअनुसार उत्तर कोरियाबाट पठाइएका ११ हजार सैनिकहरुमध्ये कम्तीमा एक हजार जना तीन महिनाभित्र मारिएका छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्