site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बेलायत, फ्रान्स र क्यानाडाले हमासको सत्ता चाहेको नेतान्याहूको आरोप

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बेलायतका प्रधानमन्त्री किएर स्टार्मरसहित फ्रान्स र क्यानाडाका नेताहरूले हमासको सत्ता चाहेको आरोप लगाएका छन् । उनीहरू नरसंहार गर्ने, बलात्कारी, शिशु हत्या गर्ने र अपहरणकारीको पक्षमा उभिएको नेतान्याहूको आरोप छ ।

एक्समा पोस्ट गरिएको भिडियो सन्देशमा उनले बेलायतका प्रधानमन्त्री स्टार्मर, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोन र क्यानाडका प्रधानमन्त्री मार्क कर्नीले इजरायललाई आत्मसमर्पण गराएर हमासको बचाउमा लागेको बताएका छन् ।

अमेरिकाको वासिङ्टन डीसीमा इजरायली दूतावासका कर्मचारीमाथि बिहीबार भएको आक्रमणबारे जारी गरिएको भिडियोमा उनले बेलायत, फ्रान्स र क्यानाडाका नेताहरूबारे पनि टिप्पणी गरेका हुन् ।

Argakhachi Cement Island Ad

बेलायतको प्रधानमन्त्री कार्यालयले भने नेतान्याहुको टिप्पणीमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । तर, स्टार्मरले एक्समा किएरले वासिङ्टन आक्रमणको निन्दा गरेका छन् । स्टार्मरले यहुदीविरोध अभियानप्रति चिन्ता व्यक्त गरेका थिए ।

गत सोमबार बेलायत, फ्रान्स र क्यानाडाले गाजामा इजरायली सेनाको विस्तारित सैन्य अभियान र नागरिकलाई मानवीय सहयोग गर्न नदिने नीतिको निन्दा गरेका थिए । उनीहरूले मानवीय सहायता रोक इजरायलमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् ।

नेतान्याहूले भने हमासले इजरायल र यहुदीलाई नष्ट गर्न खोजेको बताएका छन् । “फ्रान्स, बेलायत, क्यानाडा र अन्यका नेताहरूले यो साधारण सत्य पनि किन बुझ्न नसकेको हो मैले कहिल्यै बुझ्न सकिनँ,” उनले भने ।

“म राष्ट्रपति म्याक्रोन, प्रधानमन्त्री कर्नी र स्टार्मरलाई भन्छु– जब नरसंहारक, बलात्कारी, शिशु हत्या गर्ने र अपहरणकारीले तपाईंलाई धन्यवाद दिन्छन्, तब तपाईं न्यायको विपक्षमा हुनुहुन्छ । तपाईं मानवताविरुद्धमा हुनुहुन्छ र तपाईं इतिहासको विरुद्धमा हुनुहुन्छ,” उनले थपे ।

इजरायली मन्त्री अमिचाई चिक्लीले पनि प्रधानमन्त्री स्टार्मरलाई र अन्य नेताहरूले आतंकवादी शक्तिलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्