site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्प आफैँ भन्न थाले– पुटिनले युद्ध जित्दै छन्, शान्तिको पक्षमा छैनन्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो हप्ता युरोपेली नेताहरूसँग फोन संवादमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न तयार नरहेको बताएका छन् । 

अमेरिकी राष्ट्रपतिले पुटिनसँग फोन संवाद गरेपछि सोमबार युक्रेनका युरोपेली सहयोगीहरूलाई सम्बोधन गर्दै रूसी नेताले लडाईं जारी राख्न चाहेको बताएका छन् । यसको कारण उनीहरूलाई यो युद्ध जित्दै छु भन्ने विश्वास रहेको ट्रम्पको भनाइ छ । 
    
वाल स्ट्रिट जर्नलले विभिन्न स्रोतलाई उदृत गर्दै बताए अनुसार उनको यो स्वीकारोक्ति युक्रेनका युरोपेली सहयोगीहरूले पहिलोपटक सुनेका थिए, जहाँ अमेरिकी राष्ट्रपतिले पुटिनले शान्ति वार्तामा इच्छुक नभएको बताएका थिए ।

ट्रम्पले यसअघि सार्वजनिक दाबी गर्दै आएभन्दा यो ठीक विपरीत हो । ट्रम्पले यसअघि बारम्बार रूसी राष्ट्रपतिले युद्ध अन्त्य गर्न चाहेको बताउँदै आएका थिए ।

यसैबीच, रूसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले युक्रेनको नेटोमा सामेल हुने महत्वाकांक्षालाई इंगित गर्दै युद्धको जराको अन्त्य गर्नेतर्फ लाग्नुपर्ने रुसको माग दोहोर्‍याए । उनले कुनै सम्भावित युद्धविराम अघि यो विषय सम्बोधन गरिनुपने बताए । 

ट्रम्पले अर्को महिना भ्याटिकनमा रुस र युक्रेनबीच वार्ता हुनसक्ने बताए पनि रुसले बिहीबार गत हप्ता इस्तानबुलमा भएको वार्तापछि युक्रेनसँग कुनै थप योजनाबद्ध वार्ताका लागि सहमति नभएको बताएको छ । 

रुसले युक्रेनबाट फिर्ता लिने एक हजार कैदीहरूको सूची पेस गरेको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो युद्धकालीन आदानप्रदान हुने बताइएको छ ।

पुटिनसँग दुई घण्टा फोनमा कुराकानी भएपछि अमेरिकी राष्ट्रपतिले सोमबार युरोपेली नेताहरूसँग फोनसंवाद गरेका थिए । 

उनले पहिले रूसमा प्रतिबन्ध लगाउन तयार भएको बताएका थिए । तर, पछि कुराकानीमा उनले यस्तो कारबाही गर्ने इच्छा राखेनन् ।

ट्रम्पले सुरुमा अर्को महिना भ्याटिकनमा रूस र युक्रेनबीच सम्भावित शान्ति वार्तामा अमेरिकी विदेश मन्त्री मार्को रुबियोलगायत वरिष्ठ अधिकारीहरू पठाउन इच्छुक हुने संकेत दिएका थिए । तर, युरोपेली नेताहरूसँगको संवादमा उनले यो प्रतिबद्धता जनाएनन् । 

उक्त वार्तामा  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका नयाँ चान्सलर फ्रेडरिक मर्ज सहभागी थिए ।

पोप लियोले यो शिखर सम्मेलन आयोजना गर्न इच्छुक भएको बताएका छन्, जुन गत हप्ता इस्तानबुलमा भएको पहिलो प्रत्यक्ष शान्ति वार्तापछि हुने बताइएको छ ।

तर, रुसले बिहीबार युक्रेन र रूसबीच जुनमा भ्याटिकनमा शान्ति वार्ता हुने खबर थाहा नभएको बताएको छ । “यस विषयमा कुनै सहमति भएको छैन,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग भने । 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्