
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा चामत्कारिक ढंगबाट गरिबी घटेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आएको बताए ।
"त्यो २०–२५ वर्ष पछाडि, अहिले २०८१ सालमा आइपुग्दै गर्दा हिजो हातमुख जोर्न पनि गाह्रो भएको परिवारले आज कहाँ पुगेको छ भने एक तह माथि उठेको छ । नेपाल संसारका ती थोरै देशहरूमध्ये पर्छ, जसले गएको २०–२५ वर्षमा चामत्कारिक ढंगबाट आफ्नो देशको गरिबी घटाएको छ । अब त्यो परिवारका मान्छेले कसैले १०, कसैले ११, कसैले १२ पढेको छ," थापाले भने ।
उनले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्यरूपमा भएको जिकिर गरे ।
"प्रजातन्त्र आयो, विकासको एउटा नयाँ लहर आयो । त्यसले भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास भयो । मानव विकासमा पनि माथि बढ्यौँ । प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विकासको आकांक्षा पनि जगायौँ," उनले भने ।
तर, अहिले नेपालको अर्थतन्त्र ठिक ढंगबाट अघि बढ्न नसकेको महामन्त्री थापाको भनाइ छ ।