
काठमाडौं । गृह मन्त्रालयको सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ भएको विषय हाल चर्चामा छ ।भिजिट भिसामा जाने नेपालीहरूसँग कम्तीमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ ।
उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको र गृहमन्त्री लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै चर्को आलोचना भएको छ ।
सोही कारण गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता मधु चौलागाईंले शुक्रबार सर्वोच्चमा रिट लगेका हुन् । रिट दर्ता हुन भने बाँकी रहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।
राजधानीमा आफूविरुद्ध चर्को आलोचना भइरहँदा गृहमन्त्री रमेश लेखक भने शुक्रबार मधेसमा व्यस्त रहे । गृहमन्त्री लेखक मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीको प्रमुख अतिथि भएर धनुषा गएका हुन् ।
नेपाल सरकार गृह मन्त्रालय र मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरेको हो ।
उक्त अवसरमा गृहमन्त्री लेखकले प्रदेशअन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र देखिएका समस्या एवं चुनौती समाधान गर्न यस गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
देशको आन्तरिक सुरक्षा मजबुत भए मात्रै विकास र समृद्धि सम्भव हुने उल्लेख गर्दै उनले सुरक्षा व्यवस्था मजबुत बनाउन सबै सुरक्षा निकायले विशेष ध्यान दिई कार्यसम्पदान गर्नुपर्ने बताए ।
लागुऔषध दुर्व्यसन, सवारी दुर्घटना, आत्महत्या र साइबर अपराधका घटनालाई नियन्त्रण गर्न सबै सरोकारवाला निकाय सक्रिय भएर अगाडि बढ्नुपर्ने बताउँदै उनले सीमा क्षेत्रमा हुने चोरी निकासी पैठारी एवं सीमावर्ती अपराध नियन्त्रणमा थप सचेत भई काम गर्नुपर्नेमा जोड दिएका थिए ।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भावी रणनीति बनाएर काम गर्नुपर्ने बताउँदै विपद् व्यवस्थापनका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने उनले बताए ।
सो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, मधेस प्रदेशका प्रमुख सचिव मदन भुजेल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्ट सहभागी थिए ।