site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दैनिक ३६ सय बढी पासपोर्ट जारी,४० महिनामा ४४ लाखले बनाए

काठमाडौं । राहदानी विभागले दैनिक तीन हजार ६ सयभन्दा बढी विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने गरेको छ । 

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार ०७८ मंसिरदेखि ०८१ चैत मसान्तसम्मको ४० महिनाको अवधिमा कुल ४४ लाख २३ हजार ९९२ थान ई–पासपोर्ट जारी भएका छन् । 

उक्त अवधिमा प्रत्येक महिना औसतमा १ लाख १० हजार ५९९ थानभन्दा बढी ई–पासपोर्ट जारी भएका छन् । अर्थात् दैनिक औसतमा तीन हजार ६८६ थानभन्दा बढी ई–पासपोर्ट विभागले जारी गर्दै आएको छ । 

जारी भएका यी पासपोर्ट विभागमा बनेर विभाग, जिल्ला प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोगबाट जारी भएका हुन् । “अब हामीसँग सातदेखि साढे सात लाख खाली ई–पासपोर्ट छन्,” महानिर्देशक अर्यालले जानकारी दिए । 

विभागले ०७८ मंसिर महिनाबाट ई–पासपोर्ट जारी गर्न सुरु गरेको हो । त्यसअघि विभागले मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) जारी गर्थ्यो ।  विभागको तथ्यांकअनुसार पछिल्लो तीन वर्ष चार महिनामा औसतमा प्रत्येक वर्ष १३ लाख २७ हजारभन्दा बढी ई–पासपोर्ट जारी भएका छन् । 

विभिन्न समयमा खरिद गरिएका ५१ लाख ई–पासपोर्टमध्ये ४४ लाख २३ हजार ९९२ वटा जारी भएका हुन् । “नयाँ पासपोर्टको खरिद प्रक्रिया हाम्रो कार्यतालिकाभित्रै सकिन्छ भन्ने लाग्छ,” उनले जनाए ।
 
आर्थिक वर्ष ०८०/८१ मा विभागले १४ लाख ७३ हजार ३२५ थान ई–पासपोर्ट जारी गरेको थियो । अघिल्लो आर्थिक वर्ष ०७९/८० मा १४ लाख ७१ हजार २६४ थान ई–पासपोर्ट जारी भएको थियो । 

विभागका अनुसार बितेको साढे १४ वर्षमा नेपालले १ करोड १४ लाख थानभन्दा बढी पासपोर्ट जारी भएका छन् । आर्थिक वर्ष ०६७/६८ देखि ०८१/८२ को चैत मसान्तसम्मको अवधिमा ती पासपोर्ट जारी गरिएको हो । 

नेपालले हस्तलिखित पासपोर्ट बन्द गरी मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) जारी गर्न सुरु गरेपछि उक्त संख्यामा पासपोर्ट जारी गरेको हो । यसमा ई–पासपोर्ट पनि समावेश गरिएको छ ।

राहदानी विभागले हस्तलिखित राहदानी बन्द गरी ०६७ मंसिर १० गतेबाट एमआरपी जारी गर्न सुरु गरेको थियो । यस्तै, विभागले एमआरपीबाट स्तरोन्नती गर्दै ०७८ मंसिर १ गतेदेखि ई–पासपोर्ट जारी गर्न सुरु गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्