site stats
बाह्रखरी :: Baahrakhari
देश
विभागीय प्रमुखसँग बैठक बस्छन् गुरागाईं, बालेनसँग भएको छैन भेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको भेट भएको छैन ।
  
प्रशासनिक कामहरू अघि बढे पनि प्रमुख प्रशासकीय अधिकृत र मेयरबीच भेट नभएको गुरागाईंनिकट स्रोतले बताएको छ ।

“प्रमुख प्रशासकीय अधिकृत विभागीय प्रमुखसँग बैठक बस्नु हुन्छ । सबै प्रशासनिक कामहरू अघि बढेका छन् । कामको सिलसिलामा मेयरकोमा फाइल पुगेपछि तोक लगाउने त भइहाल्छ । तर, औपचारिक रूपमा भेट भएको छैन,” स्रोतले भन्यो ।

मेयर बालेनको निर्देशनमा खटिएका नगरप्रहरीको घेरा तोड्दै गुरागाईं गत चैत २१ गते कार्यालयमा हाजिर भएका थिए । महानगरप्रहरीको अवरोधका बीच जनप्रतिनिधि र कर्मचारीको सहयोगमा कार्यालय प्रवेश गरेका थिए ।

त्यसपछि मेयर बालेनसहित करिब पाँच हजार कर्मचारीको तलब निकासा भएको थियो । गुरागाईं हाजिर भएको सात दिनपछि मात्रै मेयर बालेन बिहीबार कार्यालय पुगे । बालेन कार्यालय छिर्दा गुरागाईं कार्यालयबाट बाहिरिएका थिए ।

काठमाडौं टावरको प्रक्रिया पूरा नगरी नक्सापास गरेको आरोपमा बालेनले गुरागाईंलाई छानबिनमा तानेका थिए । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई दोषी देखाउने आधार नभएको भन्दै महानगरमै काम गर्न पठाएको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्