site stats
बाह्रखरी :: Baahrakhari
खेल
एनपीएल विजेता जनकपुर बोल्ट्सलाई सिरहामा स्वागत

सिरहा । नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टोली जनकपुर बोल्ट्सका खेलाडीलाई सिरहामा आज स्वागत गरिएको छ । जिल्ला क्रिकेट संघ सिरहा र सिरहा नगरपालिकाको संयुक्त आयोजनामा खेलाडीलाई स्वागत गरिएको हो ।

सिरहा सदरमुकाममा परिक्रमा गरी विजय उत्सव मनाइएको थियो । खेलाडी सहभागी रहेको र्‍यालीमा हजारौँ समर्थक सहभागी थिए । खेलाडी र व्यवस्थापन पक्षलाई बाजागाजासहित स्वागत गर्दै ट्रफी परेड गरिएको थियो ।

कप्तान अनिल साहको नेतृत्वको टोलीलाई सिरहा नगरपालिकाको सीमा पदमपुरमा जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका मधेस प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ नेतृत्वको टोलीले स्वागत गरेको थियो । त्यसपछि चोकचोकमा स्थानीयले टोलीको विजयमा हर्षबढाइँ गरेका थिए ।

उपाधिसहित मधेस प्रदेशका आठवटै जिल्लामा पुग्ने पूर्वघोषित कार्यक्रमअनुसार विजयी टोली सिरहा पुगेको हो । आइतबार रौतहटमा खेलाडीलाई सम्मान गरिएको थियो । एनपीएल ट्रफी मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्सले जितेपछि त्यसबाट यहाँका खेलाडीलाई प्ररेणा मिलेको सिरहा जिल्ला क्रिकेट संघका अध्यक्ष महासेठले बताए । रासस

 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  २२:३१
प्रतिक्रिया दिनुहोस्