site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीले भने– कसैका बारेमा प्रश्न उठाउनै नहुने ? स्वर्गबाट धर्ती उज्यालो बनाउन आएका हुन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी प्रकरणमा नागरिकको रकम फिर्ता हुने गरी काम अघि बढाउन संसदीय छानबिन समितिसँग अनुरोध गरेका छन् ।

उनले समितिलाई आफूहरुले निर्देशन गर्ने भन्दा पनि सरकारलाई समितिले दिएको निर्देशन पालना गर्ने बताए ।

उनले अहिले केही व्यक्तिहरुका बारेमा प्रश्न उठाउनै पाइँदैन भन्नेजस्तो अवस्था आएको बताउँदै गलत गर्ने जो कोही पनि कानुनी दायरामा आउनुपर्ने बताए ।

Argakhachi Cement Island Ad

“सहकारीको उद्देश्य जता पनि पैसा लगाउन पाइन्छ भन्ने हुँदै होइन । सहकारी एक–दुईजना मान्छेको ठगी खाने भाँडो हुनुभएन ।”

उनले जीबी राईप्रति संकेत गर्दै भने, “एकजना हरायो, उसँग अर्बौैँ हरायो । यस्तो अवस्था आउनुहुँदैन ।”

बैंकहरुमा कसैले १० लाख रुपैयाँ राख्न खोज्दा त्यसको स्रोत खोज्ने व्यवस्था भए पनि सहकारीमा नहुँदा समस्या भएको बताए ।

“लगानीकर्ताको रकम नडुबोस्,” प्रधानमन्त्रीले भने, “ठग्ने मनसाय भएका मान्छेले ठग्न सफलता प्राप्त नगरुन् । कति विदेश गएको होला । नभए प्रायः रकम विदेश गएको छैन । कतिपय मान्छेका विषयमा प्रश्न उठाउनै पाइँदैन भन्नेजस्तो परेको छ । प्रश्न उठायो भने स्वर्गबाट आगो ल्याउने प्रमिथसजस्तै हुँ । धर्ती उज्यालो पार्ने मान्छेको बारेमा प्रश्न उठाउने ? भनिन्छ । सरकार कम्प्रमाइज गर्ने अवस्थामा छैन ।” 

उनले हल्लाका पछि नलागेर दृढताका साथ काम गर्न समितिलाई अनुरोध गरे ।

फरार व्यक्तिहरुका सम्बन्धमा सरकारले खोजी जारी राखेको बताउँदै कुनै निकायबाट दोषी पुष्टि नहुँदा झिकाउन पनि गाह्रो भएको बताए ।

“अहिलेसम्म छानबिनको चरणमा भएकाले पनि सरकारसँग दह्रोगरी भन्न नसकेको र इन्टरपोलले पनि पर्याप्त सहयोग गर्न नसकेको हो कि ? अरुको सम्पत्ति हिनामिना गरेर विभिन्न सुनको स्वर्गका सपना देखाएर मान्छेलाई सर्वनाश बनाउने कुरा स्वीकार्य हुन सक्दैन,” उनले भने ।
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्