site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

काठमाडौं । नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरिएको छ । करिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने, “मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो । १५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुन सकेको छैन ।”

Argakhachi Cement Island Ad

च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको उनले बताए ।

०८० साउन १ देखि यो प्रणाली लागु भएपछि त्यस्ता च्यानलहरूको प्रसारण रोकिएको थियो । तर, सरकार पछाडि हट्ने संकेत नपाएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएका थिए ।

सुरुआती समयदेखि नै भारतीय टेलिभिजन च्यानलहरूले आलाकार्टा प्रणाली पालना गर्न आनाकानी गर्दै आएका छन् । प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने विषय मान्य नहुने भन्दै उनीहरू विरोधमा छन् ।

मन्त्रालयका अनुसार, हाल सबै विदेशी च्यानलप्रदायकको करिब एक अर्ब रुपैयाँ विदेशी मुद्रा सिफारिस हुन सकेको छैन । रासस

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्