
तानसेन (पाल्पा) । पाल्पाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन् । बिहीबार दिउँसो जिल्लाको तिनाउ गाउँपालिका–३, तिनाउखोला ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी शुक्रबार मृतावस्थामा फेला परेका हुन् ।
नेपाल प्रहरी, नेपाली सेनाको तालिम प्राप्त टोलीले ड्यामसाइडबाट शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराई बताए । “अन्सारी चारजना साथीहरूसँग घुम्न आएका थिए । साथीहरू भने सकुशल छन्,” उनले भने ।
गत वैशाख र यही जेठमा तिनाउखोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय सरकार र प्रहरीचौकी दोभानको समन्वयमा दुर्घटना सम्भावितस्थलका लागि निषेध गरे पनि आफूखुसी पौडी खोल्ने क्रम बढेकाले दुर्घटना भएको उनको भनाइ छ । हरेक वर्ष गर्मी मौसममा पौडी खेल्न जाने र खोलाको तस्बिर लिनेहरू लडेर ज्यान गुमाउने गरेका प्रहरी उपरीक्षक भट्टराईले बताए । रासस