site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधान न्यायालयका फैसला अब सर्वोच्चकोे वेबसाइटमै पढ्न पाइने 

काठमाडौं । प्रधान न्यायालयका फैसला अब सर्वोच्च अदालतको वेबसाइटमा पढ्न पाइने भएको छ । अदालतले न्यायाधीश हरिप्रसाद फुयालको नेतृत्वमा बनाएको समितिले प्रधान न्यायालयका फैसला आधुनिक नेपाली भाषामा बोधगम्य बनाई प्रकाशनको काम गरेको हो । 

सोमबार प्रजातन्त्र दिवसको अवसर पारेर प्रथम प्रधानन्यायाधीश हरिबहादुर प्रधानको जीवनी सार्वजनिक गर्दै प्रधान न्यायालयका फैसला समेत प्रकाशित गरेको हो । फैसला प्रकाशन समारोहलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फैसला प्रकाशनले विधिशास्त्रको उजागर गर्ने र न्यायाधीश, अध्यता कानुनका विद्यार्थीसहितलाई सहयोगी सामग्री हुने विश्वास व्यक्त गरे । 

Argakhachi Cement Island Ad

“सार्वजनिक सम्पत्तिको रूपमा रहेका तर जनमानसमा सहजरूपमा उपलब्ध हुन नसकेका प्रधान न्यायालयका फैसलाहरू पुरानो लेखन शैलीबाट नयाँ नेपाली भाषाको लेखन शैलीमा उतार गरी जनमानसमा उपलब्ध गराउने कार्यले हाम्रो मौलिक विधिशास्त्रको उजागर गरी कानुनी ज्ञानको प्रवर्द्धन गर्नेतर्फ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने मैले विश्वास लिएको छु,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “प्रधान न्यायालयका फैसलाहरूमा प्रयोग भएका भाषा हाल प्रचलनमा रहेको भाषाभन्दा पृथक रहेको र ती फैसलाहरू सजिलै पढ्न र बुझ्न कठिन भएको र लामो नेपाली कागजमा लेखी पट्याई राखेकोमा त्यस्ता फैसलालाई भाषाविज्ञहरूबाट सहजै बोधगम्य हुने गरी उतार गरिएका छन् ।” 

उनले वेबसाइटमा सहजरूपमा उपलब्ध भएका फैसलाहरू न्यायाधीशहरू, कानुन र न्यायको क्षेत्रमा कार्यरत अधिकृत तथा कर्मचारीहरू, कानुन व्यवसायीहरू, अनुसन्धानकर्ता, कानुनका विद्यार्थीलगायत सरोकारवालाहरूलाई अत्यन्तै उपयोगी स्रोत सामग्रीको रूपमा रहने विश्वास व्यक्त गरे । 

प्रधानन्यायाधीश श्रेष्ठले प्रधान न्यायालयका फैसलाहरू सबैले बुझिने गरी उतार गर्ने कार्य कठिन र चुनौतीपूर्ण कार्यको योजना बनाउने, आर्थिक स्रोत जुटाउने, विज्ञहरूको खोजी गर्ने जस्ता कार्यहरूमा आफ्नो नियमित कामको अलवा थप समय र परिश्रम खर्चिएवापत सम्पादन तथा प्रकाशन समितिका अध्यक्षता ग्रहण गरेका न्यायाधीश फुयाललाई धन्यवाद दिए । यसअघि सम्पादन र प्रकाशन समितिको अध्यक्षता गरेकी न्यायाधीश सपनाप्रधान मल्लसहित संलग्न सबैलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्