site stats
बाह्रखरी :: Baahrakhari
खेल
न्युजिल्यान्डविरुद्ध सुवास भण्डारीले दिलाए पहिलो सफलता 

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध बलिङ गरिरहेको नेपालका निम्ति सुवास भण्डारीले पहिलो सफलता दिलाएका छन् ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलको पहिलो पावर प्लेमा नेपाल विकेटविहीन थियो । तर, सुवासले ११औँ ओभरको पहिलो बलमै न्युजिल्यान्डका ओपनर लुक वाटसनलाई १४ रनमा बोल्ड गर्दै नेपाललाई सफलता दिलाएका हुन् ।

त्यसअघि, नेपाली टिमका कप्तान देव खनालले पहिलो पावर प्लेमा चार बलर प्रयोग गरे पनि कोही सफल भएका थिएनन् । पहिलो पावर प्लेमा गुल्सन झाले पाँच, आकाश चन्दले तीन र सुवास भण्डारी र दिपेश कँडेलले एक/एक ओभर बलिङ गरेका थिए ।

युवा विश्वकपमा हालसम्म नेपालले दुईपटक न्युजिल्यान्डविरुद्ध खेल्दा अपराजित यात्रा कायम राखेको छ । नेपालले विश्वकपमा न्युजिल्यान्डविरुद्धका दुवै खेलमा जित निकालेको थियो । सन् २००६ मा भएको युवा विश्वकपमा नेपालले न्युजिल्यान्डलाई एक विकेटले र २०१६ को विश्वकपमा ३२ रनले हराएको थियो ।

यस्तै, युवा विश्वकपमा नेपालले आठ वर्षपछि खेलेको हो । यसअघि, नेपालले २०१६ को यू–१९ विश्वकप खेलेको थियो । त्यति बेला नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । अन्तिम–८ को खेलमा बंगलादेशसँग पराजित भएपछि नेपालको चुनौती सकिएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्