site stats
बाह्रखरी :: Baahrakhari
खेल
लिग चरणमा भारत अपराजित, यी हुन् सेमिफाइनल प्रवेश गर्ने चार टिम

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा भारत लिग चरणमा शतप्रतिशत जितसहित सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा नेदरल्यान्ड्सविरुद्ध १६० रनको जित निकाल्दै भारत अपराजित रहँदै अन्तिम-चारमा प्रवेश गरेको हो ।

बेङ्लोरस्थित एम चिन्नास्वामी रंगशालामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको ४११ रनको लक्ष्यमा नेदरल्यान्ड्सले २५० रनमात्र जोड्न सक्यो । यो जितसँगै शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको भारतले नौ खेलबाट १८ अंक जोडेको छ । समान खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्सले भने तालिकाको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ ।

सेमिफाइनल समीकरण प्रतियोगितामा भारतसँगै दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा रहँदै अन्तिम चारमा प्रवेश गरेका छन् ।

फाइनलमा प्रवेशका लागि भारतले चौथो स्थानको न्युजिल्यान्डसँग खेल्नेछ । दक्षिण अफ्रिकाले अस्ट्रेलियासँग खेल्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल बुधबार हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारत र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया बिहीबार फाइनल प्रवेशका निम्ति खेल्नेछन् ।

प्रतियोगिताको फाइनल आगामी आइतबार हुनेछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्