
काठमाडौं । इटालियन सिरी ‘ए’ सिजनको अन्तिम खेलमा काग्लियारीलाई पराजित गर्न सफल भए नापोलीले शुक्रबार युरोपको अन्तिम ठूलो लिग उपाधि जित्नेछ ।
तर, च्याम्पियन्स लिग फाइनल पुगिसकेको र सिरी ‘ए’ साविक विजेतासमेत रहेको इन्टर मिलान लिग लिडरभन्दा एक अंकले मात्रै पछि छ । त्यसैले नापोलीले काग्लियारीविरुद्ध कुनै सानो गल्ती गरेमा इटालियन फुटबलको रोमाञ्चक अन्त्य देख्न सकिनेछ । जसमा शीर्ष दुई टोलीबीच प्लेअफ खेल समेत सम्भव छ ।
नापोलीलाई उपाधि जित्न के चाहिन्छ ?
नापोलीको समीकरण सरल छ – काग्लियारीलाई हराए सिरी ‘ए’ उपाधि फेरि नेपल्स पुग्नेछ । इन्टरको नतिजाअनुसार नापोलीलाई बराबरीले मात्रै पनि च्याम्पियन बनाउन सक्छ । तर, इन्टरले कोमोविरुद्ध जित हासिल गर्दा भने नापोलीलाई बराबरीको नतिजा पर्याप्त बन्ने छैन ।
अर्को समीकरणअनुसार इन्टर च्याम्पियन बन्न आफ्नो खेलमा विजयी बन्नुपर्नेछ भने नापोलीले काग्लियारीविरुद्ध हार व्यहोर्र्नु पर्नेछ । यस्तै, नापोलीले हार व्यहोर्दा इन्टर बराबरीमा रोकिए प्लेअफको अवस्था सिर्जना हुनेछ ।
प्लेअफ कहाँ हुनेछ ?
सिरी ‘ए’ नियमअनुसार, शीर्ष दुई टोलीको हेड–टु–हेड प्रदर्शन हेरेर प्लेअफ कहाँ हुने भन्ने निर्णय गरिन्छ । यदि, त्यो पनि समान भएमा गोल अन्तर हेरेर खेल अघि रहने टोलीले प्लेअफ आयोजना गर्नेछ ।
दुवै टोलीबीच यस सिजनको दुई खेल समान १–१ को बराबरीमा टुंगिएको थियो । इन्टर गोलअन्तर नापोलीभन्दा १२ गोलले अघि छ । त्यसैले प्लेअफ भएमा इन्टरले आफ्नो घरेलु मैदान सान सिरो रंगशालामा यो खेल आयोजना गर्नेछ ।
किन खेलहरू शुक्रबार तय गरिएका छन् ?
नापोली र इन्टरको दुई फरक खेल शुक्रबार तय गरिएका कारण इन्टरलाई च्याम्पियन्स लिगको तयारीको लागि समय दिनु हो । यदि, उपाधिका लागि प्लेअफ आवश्यक परेमा त्यो सोमबार आयोजना हुनेछ ।
इन्टर र पीएसजीबीचको च्याम्पियन्स लिग फाइनल अब इन्टरको प्राथमिकता बनेको छ, जसले गर्दा सिरी ‘ए’को अन्त्य थप जटिल बनेको छ ।
पूर्वनिर्धारित प्लेअफ अर्को साता हुने भनिए पनि च्याम्पियन्स लिग फाइनलको कारण त्यो अब सम्भव छैन । त्यसैले सिरी ‘ए’ ले शुक्रबार नापोली र इन्टरको खेल तोकेको हो र सम्भावित प्लेअफ सोमबार हुनेछ ।
नापोलीको जितले के अर्थ राख्छ ?
नापोलीका प्रशिक्षक एन्टोनियो कोन्टे पहिलो सिजनमै इतिहास बनाउने संघारमा छन् । उनले यसअघि युभेन्टस र इन्टरलाई सिरी ‘ए’ जिताइसकेका छन् । यदि, नापोली आज इटालियन च्याम्पियन बने कोन्टे तीन फरक टिमसँग सिरी ‘ए’ जित्ने पहिलो प्रशिक्षक बन्नेछन् ।
अन्तिम खेलअघि कोन्टेले, “हामीले यसमा दाँत गाडेका छौँ, अब छोड्न हुँदैन ।”
नापोलीले गत वर्ष उपाधि किन गुमायो ?
नापोली अघिल्लो वर्ष खराब प्रदर्शन गर्दै सिरी ‘ए’ को १०औँ स्थानमा सीमित भयो । यही खराब लयका कारण नेपल्सको यो क्लबले तीन प्रशिक्षक परिवर्तन गर्यो । प्रमुख खेलाडीहरूले पनि क्लब छोडे । जसमा भिक्टर ओसिम्हेन, खभिचा क्वारात्स्खेलिया, किम मिन–जे छन् ।
तर, नयाँ प्रशिक्षक कोन्टेले टिममा पुनः ऊर्जा ल्याएका छन् । जसले फेरि एकपटक नापोलीलाई उपाधिका लागि प्रतिस्पर्धी बनाएको छ ।
नेपल्स सहर अहिले पछिल्लो तीन वर्षमा दोस्रो सिरी ‘ए’ उपाधिका लागि उत्साहित छ । यसअघि क्लबले १९८७ र १९९० मा डिएगो म्याराडोना हुँदा दुई उपाधि जितेको थियो । यी नै नापोलीले अहिलेसम्म जितेको सिरी ‘ए’ उपाधि हुन् । सिरी ‘ए’ इतिहासमा युभेन्ट्स ३५ उपाधिसहित सबैभन्दा धेरै पटक च्याम्पियन बन्ने टोली हो ।
इन्टर मिलानले हालसम्म २० पटक यो उपाधि चुमेको छ । जुन इन्टरको सहरिया प्रतिद्वन्दी एसी मिलान (१९) भन्दा एक उपाधिमात्र धेरै हो ।
कस्तो हुनेछ अन्तिम चरण ?
अन्तिम खेलमा न त कोन्टे न त इन्टरका प्रशिक्षक सिमोन इन्झाघी डगआउटमा हुनेछन् । दुवै जनाले यसअघिको खेलमा रातो कार्डको दर्शन गरेका थिए ।
इन्टरको खेलमा विवादास्पद पेनाल्टीपछि इन्झाघी रिसाएका थिए । अर्कोतर्फ, कोन्टे र पार्माका सहायक प्रशिक्षकबीच झगडाको स्थिति आएको थियो । जसका कारण दुवै टिमका प्रशिक्षकलाई रेफ्रीले रातो कार्ड दर्साएका थिए ।
अंक तालिकाको शीर्ष स्थानमा आसिन नापोलीले ३७ खेलबाट ७९ अंक जोडेको छ । दोस्रो स्थानको इन्टरले समान खेलबाट ७८ अंक जोडेको छ । युरोपका शीर्ष पाँच लिगमध्ये विजेताको छिनोफानो हुन बाँकी रहेको सिरी ‘ए’का यी दुई खेल शुक्रबार राति नेपाली समयअनुसार १२ः३० बजेदेखि सुरु हुनेछ ।