site stats
बाह्रखरी :: Baahrakhari
खेल
कप्तान रोहित भन्छन्– सन्दीप नहुँदा टिममा असर पर्छ, तर हामी तयार छौँ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पीनर सन्दीप लामिछाने टिममा नहुँदा असर पर्ने बताएका छन् । 

घरेलु मैदानमा बुधबारदेखि सुरु हुने त्रिदेशीय शृङ्खलाअघि आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले सन्दीप नहुँदा टिममा असर पर्ने भए पनि टिम तयार रहेको बताएका हुन् ।

"शृङ्खलाका लागि हामीले राम्रो  तयारी गरेका छौँ । भारतमा गरेको अभ्यास पनि राम्रो भयो । विश्वकप छनोटका लागि यो शृङ्खलाले सहयोग गर्नेछ," रोहितले भने, "सन्दीप नहुँदा टोलीलाई केही असर त परिहाल्छ । तर पनि हामी तयार छौँ ।"

सन्दीपले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू कठिन अवस्थामा रहेका कारण शृङ्खलाबाट नाम फिर्ता लिएका थिए । सन्दीपविरुद्धको बलात्कार मुद्दा अदालतमा विचाराधीन छ ।

भोलि (बुधबार)देखि सुरु हुने शृङ्खलामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूए) सहभागी छन् । शृङ्खलाअघि आयोजित पत्रकार सम्मेलनमार्फत नेपाल क्रिकेट संघ (क्यान)ले ट्रफीसमेत सार्वजनिक गरेको थियो । 

शृङ्खलाको पहिलो खेलमा नेपाली टिमले कार्तिक १ गते यूएईसँग खेल्ने छ । नेपालले कार्तिक २ गते र ४ गते हङकङसँग खेल्ने छ ।

नेपालले कार्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्ने छ । यूएई र हङकङ भने कार्तिक ५ र ८ मा भिड्ने छन् ।

शृङ्खलाको लिगका शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन् । शृङ्खलाको फाइनल कार्तिक १० गते हुने छ ।

प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हुनेछ । अन्य खेलहरू मूलपानी क्रिकेट मैदानमा हुने छन् । 

नेपालले आईसीसी विश्वकप ट्वान्टी–२० एसिया क्षेत्र छनोटको तयारीस्वरूप यो शृङ्खला आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्