site stats
बाह्रखरी :: Baahrakhari
खेल
चार वर्ष लिग नहुँदा खेलाडी अभाव, क्लबलाई मुस्किल

काठमाडौं । चार वर्षपछि सहिद स्मारक ए डिभिजन लिग हुने भएपछि खेल क्षेत्रमा उत्साह छ । तर, लिगले जति उत्साह बढाएको छ, खेलाडी नहुँदा क्लबहरु केही निराश पनि छन् । विभागीय टोली (त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपिएफ) बाहेकका क्लबलाई खेलाडी पुर्याउनै मुस्किल छ । 

राजधानीमा फुटबल गतिविधि ठप्प भएपछि जमेका र नाम चलेका थुपै्र खेलाडी पलायन भएकाले क्लबहरुलाई खेलाडी पाउन मुस्किल परेको हो । लिग आउन केही दिनमात्र बाँकी रहँदा क्लबहरु खेलाडी खोज्नमा व्यस्त छन् । तुलनात्मक रुपमा अन्य क्लबलाई भन्दा विभागीय क्लबलाई भने खेलाडी पाउन सजिलो देखिन्छ । विभागहरुले आन्तरिक रुपमा प्रतियोगिता आयोजना गर्दै खेलाडी तयार पार्ने भएकाले पनि उनीहरुलाई खेलाडीको खासै समस्या देखिँदैन । 

एन्फाले पहिलो चरणमा १८ खेलाडी दर्ताका लागि तोकेको समय सीमा शुक्रबार सकिएको छ । शुक्रबारसम्ममा सहभागी १४ क्लबले १८ खेलाडी दर्ता गरेका छन् । पहिलो चरणमा १८ खेलाडी दर्ता गराएका क्लबलाई बाँकी खेलाडी दर्ताका लागि भने सकस परेको छ । भदौ ३० गतेसम्ममा कम्तीमा १८ खेलाडी अनुबन्ध गर्नुपर्ने भएपनि बिमालगायत कामले ढिलाइ हुने देखिएपछि एन्फाले असोज ५ गतेसम्मका लागि दर्ता मिति लम्ब्याएको थियो । लिगका लागि कुनै पनि क्लबले ३५ खेलाडी भित्र्याउन पाउने प्रावधान छ । बाँकी खेलाडी लिगका दौरान पनि अनुबन्ध गर्न पाउने व्यवस्था छ । 

Argakhachi Cement Island Ad

सिएमजी क्लब संकटाका अध्यक्ष इन्द्रमान तुलाधर खेलाडी पाउन कठिन भएको बताउँछन् । “नियमित लिग नभएपछि खेलाडीसँग सम्झौता हुने कुरा भएन, जसले गर्दा अहिले खेलाडी पाउन कठिन भएको छ,” एन्फाका महासचिवसमेत रहेका तुलाधरले भने, “धेरै वर्षपछि लिग हुन लागेकोले पनि खेलाडी समस्या परेको हो । अर्को वर्षदेखि यो खाले समस्या नहोला ।” जावलाखेल युथ क्लबको पनि समस्या तुलाधरले भने जस्तै छ । जावलाखेलका अध्यक्ष ठूलोभाइ केसीले भने, “नियमित फुटबल खेल्ने बाहेकका क्लबहरुलाई खेलाडीको समस्या छ ।” 

जावलाखेलले ३ विदेशीसहित १८ खेलाडीलाई भित्र्याएको छ भने बाँकी खेलाडीको खोजीमा छ । यसबीचमा केही चर्चित खेलाडी भने नयाँ क्लबमा पुगेका छन् । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दीसँगको लामो सहकार्यको अन्त्य गर्दै रुस्लान थ्री स्टार क्लब पुगेका छन् । एपिएफमा तीन वर्ष खेलेका अञ्जन विष्ट मनाङ पुगेका छन् । उनका दाजु रञ्जन एपिएफसँगको ७ वर्ष लामो यात्रा टुंगाउँदै थ्री स्टार पुगेका छन् । 

एपिएफले भने राजेन्द्र तामाङलाई प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले ४ विदेशी खेलाडी हरेक क्लबले भित्र्याउन पाउने व्यवस्था गरेको छ । तर, ४ खेलाडी भित्र्याउँदाको अवस्थामा १ खेलाडी भने अनिवार्य रुपमा दक्षिण एसियाली राष्ट्रको हुनुपर्ने अवस्था छ । जसका कारण हरेक क्लबले ३ विदेशी खेलाडीमात्र भित्र्याउने सम्भावना देखिएको छ ।

खेलाडी उत्साहित

नेपाली राष्ट्रिय टोलीका कप्तान तथा मनाङका रक्षक विराज महर्जन लिग आयोजनाको निश्चितताले खुसी लागेको बताउँछन् । नियमित खेलले खेलाडीहरुमा फिटनेस र प्रतिस्पर्धा हुने भएकाले त्यसले अन्ततः राष्ट्रिय टोलीलाई फाइदा पुग्ने विराजले बताए । लिग सुरु हुनु आफैंमा सुखद पक्ष भएको र यसले नयाँ खेलाडीको उदय हुने सम्भावना रहेको थ्री स्टारका अनिल गुरुङ बताउँछन् ।

फाइल तस्बिर 
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०७५  ०७:१७
प्रतिक्रिया दिनुहोस्