site stats
बाह्रखरी :: Baahrakhari
खेल
१३ औं सागको अन्योल कायमै, पूर्वाधारका कारण सर्दैन : राखेप

काठमाडौं । नेपालमा भूकम्प गएको साल (२०७२) मा भारतले गुवाहाटी र सिलोङमा १२ औं दक्षिण एसियाली खेलुकद (साग) प्रतियोगिता भव्य रुपमा आयोजना गर्यो । समापन समारोहमा सहभागी हुन गएका तत्कालिन खेलकुदमन्त्री सत्यनारायण मण्डलले १३ औं साग आयोजनाको जिम्मेवारीसहित सागको झण्डा नेपाल लिएर आए । 

त्यतिबेला नेपालमा भर्खरै भूकम्प गएकाले खेलकुद पूर्वाधारको अवस्था शून्यप्रायः थियो । काठमाडौं र पोखरामा साग आयोजना गर्नेगरी सात देशलाई निम्तो दिएको सरकारले निर्वाचन र कमजोर पूर्वाधारलाई कारण देखाउँदै २०७४ सालमा सम्पन्न गर्नुपर्ने १३ औ संस्करणको साग खेलकुदलाई एक वर्ष पछाडि सार्यो । आयोजनाको मिति सारिएसँगै मन्त्री पनि फेरिए, तर प्रगति ‘हात लायो शून्य’ भनेजस्तै । 

आयोजनाको जिम्मेवारी लिएर स्वदेश फर्किएका तत्कालिन खेलकुदमन्त्री मण्डल दुई वर्ष खेलकुदमन्त्री भए । त्यसपछि क्रमशः दलजित श्रीपाइली र राजेन्द्र केसी खेलमन्त्री बने । तर, दुवैले साग आयोजनाबारे केही उल्लेख्य निर्णय गर्न सकेनन् । 

Argakhachi Cement Island Ad

राष्ट्रको प्रतिष्ठासँग जोडिएको दक्षिण एसियाली खेलकुद आयोजनाको मिति आउन मात्र साढे ६ महिना बाँकी छ । तर, कछुवाको गतिमा भइरहेको तयारीले समयमै साग हुनेमा धेरैको आशंका छ । निर्माण गर्न थालिएका पूर्वाधारको अवस्था केही सुध्रिए पनि समयमै पूर्वाधार निर्माण पूरा हुनेमा सरोकारवालाको चिन्ता छ । एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला निर्माणको क्रममा छ भने अन्य भौतिक पूर्वाधार स्तरोन्नति हुने क्रममा छन् । 

दलजित श्रीपाइलीले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्दा मूल आयोजक समितिको बैठक नै बसेन । राजेन्द्र केसीले एकपटक बैठक बोलाए पनि साग तयारीबारे कुनै महत्वपूर्ण निर्णय भएन । 

हाल ने क पाको दुईतिहाई सरकारमा जगत विश्वकर्मा खेलकुदमन्त्री छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको झण्डै ७ महिना बितिसक्दा पनि उनले मूल आयोजक समितिको बैठक डोकेका छैनन् । यसले समयमै साग हुनेबारे अन्योल सिर्जना गरेको छ । 

राखेप भन्छ– पूर्वाधारले मिति सर्दैन
१३ औं सागका लागि पूर्वाधार बनाउने जिम्मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई दिइएको छ । जिम्मेवारी पाएको महिनौंपछिमात्र पूर्वाधार निर्माणको तयारी थालेको राखेप पूर्वाधारका कारण साग नरोकिने दाबी गर्छ । उद्घाटन समारोह आयोजना हुने दशरथ रंगशाला पुनर्निर्माण अन्तिम चरणमा रहेको बताउँदै राखेपका सदस्यसचिव केशवकुमार विष्ट पूर्वाधारका कारण साग नरोकिने दाबी गर्छन् ।

“अरु तयारी हामीले गर्ने होइन, पूर्वाधारको जिम्मेवारीमात्र हाम्रो हो । सरकारले दिएको बजेटअनुसार पूर्वाधारको काम भइरहेको छ,” उनले भने, “बाँकी रकम समयमै उपलब्ध भएन भनेचाहिँ समस्या हुनसक्छ ।” समयमै बजेट निकासा नभए र नेपाल ओलम्पिक कमिटीको विवादका कारण भने सागको मिति सर्नसक्ने विष्ट बताउँछन् । 

बजेट निकासामा ढिलाइ
सरकारले १३ औं साग आयोजनाका लागि दुई अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । तर, बजेट समयमै निकासा भने भएको छैन । पूर्वाधार निर्माणको जिम्मा पाएको राखेपले यसैलाई समस्या मान्दै आएको छ । “बजेट समयमै नपाउँदा पूर्वाधार निर्माण समयमै नहुनेमात्र होइन, काम गर्न असजिलो भएको छ,” सदस्यसचिव विष्ट भन्छन् । बजेटकै कारण साग सर्नेतर्फ विष्टको संकेत छ । नेपाली खेलकुदमा आएका ९० प्रतिशतभन्दा बढी समस्या बजेटकै कारण रहेकाले सागमा पनि त्यही बाधक हुनसक्ने विष्टको तर्क छ । 

विवादित ओलम्पिक कमिटी 
सागमा बजेटसँगै ओलम्पिक कमिटीको विवादले पनि समस्या हुनसक्ने राखेपको भनाइ छ । दुई ओलम्पिक कमिटी सक्रिय हुनु र अदालतमा मुद्दा विचाराधीन रहनुले समस्या हुनसक्ने राखेपका पदाधिकारी बताउँछन् । दुई कमिटी सक्रिय हुँदाहुँदै पनि जीवनराम श्रेष्ठको व्यवस्थापनमा नेपालले हालै १८ आैं एसियाडमा सहभागिता जनाएको छ ।

आफू नै ओलम्पिक कमिटीको वैधानिक अध्यक्ष भएकाले समस्या नहुने र साग समयमै हुने श्रेष्ठको दाबी छ । श्रेष्ठ दक्षिण एुियाली ओलम्पिक काउन्सिलका पनि अध्यक्ष हुन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०७५  १३:२६
प्रतिक्रिया दिनुहोस्