site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको ‘अराजक’ बोली, चैत १५ दोहोरिए के हुन्छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिंसा भड्काउने’ अभिव्यक्ति दिएको आरोपमा सामाजिक सञ्जाल चर्को आलोचनासहित रंगिएको छ । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका ओलीले आइतबार पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिँदै जेठ १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुुपर्ने निर्देशन दिएपछि उनको आलोचना भएको हो ।

त्यही दिनदेखि पूर्व पञ्चबाहुल राजावादीहरूले निरन्तर आन्दोलन गर्ने घोषणा गरेका छन् । ओलीले राजावादीसँग प्रतिवादमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका हुन् । “१५ गते ११–२ बजेसम्म काठमाडौंमा एमालेको नियन्त्रण हुनुपर्छ । कुन संस्थाको आयोजना हुन्छ, छोडिदिनुस् । आन्दोलनमा प्रोटोकल हुँदैन,” उनले भने । 

ओलीले प्रधानमन्त्रीको तहबाट यसरी हिंसा भड्काउने गरी अराजक अभिव्यक्ति दिएपछि उनको आलोचना भएको हो ।

Argakhachi Cement Island Ad

यस्तो छ, ओलीको बोली  

यो १५ गते तथाकथित राजावादीहरू, यी राजावादी साझावादी केही होइनन्, यी खाओवादी हुन् ।  यिनीहरू के भनेर नारा लगउँथे, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ । हिजो बेलुका पनि नारायणहिटी अगाडि त्यही पो भन्दै रहेछन् । 

प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्याकान्ड भएर मार्दाखेरि यिनीहरू कहाँ गएका थिए ? किन मरेनन् त ? सबै झुठा बेइमान कुरा गर्ने चाप्लुसी गर्ने त्यो मण्डलेहरूको स्वभाव हो, बानी हो । झुटो कुरा गर्ने, जनता वर्गल्याउने, अल्मल्याउने भ्रममा पार्ने यिनीहरू कुनै महान उद्देश्यका लागि लडिराखेका छैनन् ।

साना स्वार्थका लागि सरकार अलिक मौन बसेको र जनता अलिक मौन बसेको अवस्था । त्यो अवस्थाको फाइदा लिएर यिनीहरूले अनावश्यक फुर्तिफार्ती देखाएका छन् । यसो अक्षता मन्तर्ने हुन्छ नि ढ्याङग्रो ठोकेर त्यो मुजुरा लाएर ढ्याङ–ढ्याङ ढुङ–ढुङ गरेर नाच्ने धामी आएपछि त्यो कता जान्छ कता । यी अक्षता मन्छाउनेहरू हुन् । ढ्याङग्रो लिएर एमाले मैदानमा उत्रियो भनेपछि यी कता–कता दुलामा पस्छन् ।

त्यसकारण हामीले आफूलाई बुझ्नुपर्‍यो आफूलाई चिन्नुपर्‍यो आफूलाई त्यो संसार तयार राख्नुपर्‍यो । म साथीहरूलाई भन्न चाहन्छु, निर्देशनपछि आउँला १५ गतेका लागि यहाँबाट भोलि उठ्नेबित्तिकै १५ गतेको तयारी थाल्नुस् ।  
१५ गते के–के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, १५ गते ११ बजे देखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ ।

कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छोडदिनुस् । आन्दोलनमा यो प्रोटोकल–स्रोटोकलका कुरा हुँदैन यहाँ सभा गर्ने बैठक गर्ने ठाउँमा पो यता र यता छ । आन्दोलनमा पनि यता र यता हुन्छ र सबै एकैतिर ।

एमालेले १५ गते कस्तो कार्यक्रम गर्दैछ ? 

त्यो कार्यक्रमपछि पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक बस्यो ।  एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउन आग्रह गरेको छ ।  बैठकले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी कमिटीबाट पनि कार्यक्रम गर्ने निर्णय गरेको हो ।

पालिकास्तरमा विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ ।  काठमाडौं उपत्यकामा सांस्कृतिक झाँकीसहित कार्यक्रम जनउत्सव मनाउने निर्णय गरेको हो ।  त्यसको संयोजन नेपाल जनसांस्कृतिक महासंघले गर्ने महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले जनताको सम्प्रभुताविरुद्ध हुने कुनै पनि गतिविधि एमालेलाई स्वीकार्य नहुने बताए । 

राजावादीहरूले पनि सोही दिन आन्दोलन घोषणा गरेका छन् भन्ने प्रश्नमा उनले भने, ‘‘हाम्रो उद्देश्य जनताका अधिकारको रक्षा गर्ने कुरा जनताले पाएका उपलब्धिको संरक्षण गर्ने कुरा, गणतन्त्र स्थापनालाई जनताको उत्सवको रुपमा मनाउने कुरामा हाम्रो ध्यान केन्द्रित छ । अरु कसले के गर्छन् भन्ने कुरा हामीले चासो राखेका छैनौं ।”

राजावादीले गर्दैछन् आन्दोलन

राजावादी पक्षधरले जेठ १५ गतेबाट निरन्तर आन्दोलन गर्ने घोषणा गरिसकेका छन् । संयुक्त जनआन्दोलन समितिले पत्रकार सम्मेलन गरेर त्यही दिनबाट निरन्तर आन्दोलन गर्ने घोषणा गरेको छ । 
गत चैत १५ गतेको आन्दोलन हिंसात्मक बनेको थियो । 

गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो ।  प्रदर्शनकारीले व्यक्तिको घरमा गरेको आगजनीमा परेर पत्रकार सुरेश रजकको समेत ज्यान गएको थियो । तीनकुने घटनाका अभियुक्तहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६२ जनालाई प्रतिवादी बनाएर आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।  राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, दुर्गा प्रसाईंसहितका ६२ जनालाई प्रतिवादी बनाइएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले ६२ प्रतिवादीविरुद्ध आइतबारमात्रै अभियोजन भएको जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्