
सिमला, मनाली, लद्दाख हुँदै माथिमाथिको बाटो भएर श्रीनगर, जम्मु जोडिने रहेछ । एउटा चक्रझैँ रहेछ भारतको त्यस उत्तरी भेगमा । हामी त्यो बेला कजेल छोडेरै दक्षिण भारतबाट तीन दिनको ट्रेन सफर गरेर अमृतसर हुँदै उक्त चक्रीय भेग घुम्न पुगेका थियौँ ।
पूर्ण रूपमा घुम्ने उद्देश्यका साथ गरिएको भ्रमणमा भारतको एउटा छुट्टै संसार अनुभव गर्ने अवसर मिलेको थियो । त्यहाँ सबै भागको आफ्नै विशेषता थियो । सबै क्षेत्र आफ्नै तरिकाले रमाइलो पनि थियो । सबै क्षेत्रको आफ्नै संस्कृति थियो ।
कतै घरमाथि फुटबल आकारको ट्यांकी राखिने चलन थियो भने कतै ढुंगाकै घर निर्माण गर्ने चलन । मूलतः हिमाचल र कश्मीर भ्रमण गर्ने क्रममा वातावणीय परिवर्तन पनि रोचक थियो । दक्षिणी भेगको गर्मीको राप सहने बानी बसिसकेको हामीलाई हिमाली हावाले बेलाबखत नेपालको आभास पनि दिलाउँथ्यो ।
प्रसंग कश्मीरको भएको हुँदा कश्मीर प्रवेश गरेदेखिकै विषय वर्णन गरौँ । कश्मीर भ्रमण गर्दै गर्दा नेपालको मनाङ, मुस्ताङ घुमेको झैँ अनुभव हुने रहेछ । कश्मीरमा त्यस बेला अन्य राज्यको सिमकार्ड नचल्ने भएको हुँदा त्यहाँ गएपछि हामी आफैँ सजग हुनुपर्थ्यो ।
अर्थात्, कश्मीर स्पष्ट रूपमा अन्य राज्यबाट अलग बस्न खोजेको बुझिन्थ्यो । मनालीबाट हिँडेको केही घण्टामा जब हामीले कश्मीर क्षेत्र प्रवेश गर्यौँ, फोनले नेटवर्क टिप्न छोड्यो ।
फोटो खिच्नलाई मात्र फोनको प्रयोग हुने भयो । तथापि, हामीलाई नेटवर्क त्यस्तो चाहिएको पनि थिएन । सुरुमा त हामी ‘थ्री इडियट्स’ फिल्मको सुटिङ भएको बाटो हुँदै लद्दाख पुग्यौँ । फिल्ममा कति छिटो आमिर खानलाई भेट्न उनका साथी निलो रङको ताल – पाङयङ ताल पुगेका थिए । त्यहाँ पुगेपछि थाहा भयो, फिल्म भनेको नाटक नै हुने रहेछ !
फिल्ममा लेहेङ्गा र रानी हार लगाएर करिना कपूर स्कुटर चलाएर जति छिटो त्यहाँ पुगेको देखाइएको थियो, वास्तवमा त्यो पाँचदेखि छ घण्टाको दूरीको बाटो रहेछ ।
तिब्बतसँग सिमाना बाँड्ने उक्त ताल सुन्दर मात्र नभएर प्राकृतिक समेत थियो । निलो आकाशमुनि निलो पानी, अनि छेउछाउ रुख नभएका डाँडा । मन नै आनन्दित हुने ठाउँ थियो ।
मूलतः बौद्ध धर्म मान्ने उक्त क्षेत्रमा बेलाबखत गाडीहरूमा नेपाली गीत पनि बज्ने गर्थ्यो । अर्थात्, त्यहाँ नेपाली गीत सुन्ने जमात पनि थियो । उनीहरूका तिब्बतमा आफन्त हुने, तिब्बतका आफन्तहरू यता नेपालतिर पनि हुने रहेछन् । जसले गर्दा नेपाली भनेर भन्दा त्यहाँ अलि बढी माया पाइने रहेछ ।
खानामा चाहिँ जता गए पनि कि मटन चावल, कि राजमा चावल । मटन होला भनेर खाइए पनि खसी नभएर भेडाको मासु हुने रहेछ । हुनत हामीले नबुझेको होला सायद, बाहिरतिर मटन भनेको भेडाकै मासु रहेछ । खसीलाई चेभन भनिने रहेछ !
लद्दाखपछि हामी माथिल्लो बाटो हुँदै श्रीनगरतिर लम्कियौँ । श्रीनगर अर्कै संसार रहेछ फेरि । राम्रा आकृतिका घरहरू हुने रहेछन् । त्यही हेर्दै हामी श्रीनगरमा प्रवेश गर्यौँ । गाडीले हामीलाई सिधै एउटा होटेलमा लिएर गयो, हामीलाई सोध्दै नसोधी !
उक्त दिन हामी बाहिर आफैँ घुम्न गयौँ । बोटिङको मूल्य बुझ्यौँ र यसै बाटोतिर घुमी मात्र रह्यौँ । ‘इस्लामाबाद’ ‘इस्लामाबाद’ भनेर एउटा बसको कन्डक्टर कराउँदा हामी झसंग भएका थियौँ– त्यति नजिक पर्छ र यहाँबाट ?
त्यहाँ सिम नचल्ने हुँदा नेटवर्क थिएन । हामीसँग म्याप हेर्ने कुनै आधार थिएन । फेरि, गाडी पनि थोत्रो थियो । यता काठमाडौंमा ‘रत्नपार्क’ ‘रत्नपार्क’ भनेझैँ त्यहाँ ‘इस्लामाबाद’ भन्दै कराउँदै थियो ।
पछि होटेल पुगेर गुगल म्यापबाट हेर्दा थाहा भयो, इस्लामाबाद त्यहीँभित्रको एउटा ठाउँको नाम रहेछ !
हाम्रो होटेल नौलो थियो, काठबाट निर्मित ! अनि, होटेल साहु रहस्यमय प्रकृतिका थिए । डल लेकछेउमा रहेको होटेलमा हामीबाहेक एउटी विदेशी महिला मात्र थिइन् । उनी त्यहाँ दुई महिनादेखि बसिरहेकी रहिछन् ।
होटेलको कोठाभित्र पढ्नलाई थुप्रै किताबहरू राखिएको थियो, महँगामहँगा । यस्तो महँगा किताब यता राख्दा चोरी हुँदैन र ? हामी आफैँबीच गफ गर्यौँ ं।
पछि ती होटेलका साहु आएर हामीलाई ‘तिमीहरू कति दिन बस्ने ?’ भनेर सोधे । अनि, ‘यताउता घुम्नू’ भनेर आफैँ सबै मिलाइदिए । बेलाबेला त डर पनि लाग्थ्यो, हामीलाई सबै निर्देशित गरेकोमा !
अलिअगाडि बोटिङको मूल्य बुझ्दा हामीलाई जति भनिएको थियो, उक्त होटेल साहुले त्योभन्दा आधा मूल्यमा मिलाइदिए । त्यसउप्रान्त हामी डल लेक घुम्नतिर लागेका थियौँ ।
तालभित्रै अर्को डुंगामा आएर कोही फलफूल बेच्ने, कोही चिया बेच्ने, कोही पान बेच्ने हुनेरहेछ । जाडोयाममा हिउँले जम्ने उक्त तालको किनारतिर कैयौँ पसलहरू थिए, हामी ती हेर्दै गयौँ ।
बीचतिर पुगेपछि डुंगा चालकले भन्यो, ‘ती साहुले भनेर मात्र तपाईंहरूलाई यो मूल्यमा घुमाएको हो । नभए यतिमा त कसैले घुमाउँदैनन् ।’
हामीलाई होटेल साहु झनै रहस्यमय लाग्दै गए ।
उता क्याम्पसमा क्लास सञ्चालन भइरहेको थियो, हामी यता घुमिरहेका थियाँै । यता हामीले कबाफ खायौँ । पछि वैष्णवीको होटेलमा खाना खायौँ ।
त्यहाँ कावालाई चियाझैँ खाइँदो रहेछ ! त्यो पनि अनुभव गर्यौँ हामीले ।
त्यहाँ आइसकेपछि घुम्नैपर्ने पहलगाम र गुलमार्ग रहेको उनले सुझाव दिए । तर, हामीसँग समयको अभावका कारण गुलमार्ग उल्टो दिशा पर्ने भएकाले पहलगाम घुम्न सुझाव मात्र दिएनन्, उनले गाडी पनि ल्याइदिए । अनि, गाडीको दाम पनि उनैले तोकेर हामीलाई बसाइदिए ।
हामी गाडी चढ्यौँ र होटेल पनि छोड्यौँ । गाडी साहुकै मान्छेको रहेछ । अब गाडीमा हामीले साहुको कुरा गर्नै भएन ! एकप्रकारको डर पनि लागिरहेको थियो ।
साँझ पहलगाम घुमेर जम्मुको गाडी समात्नेसम्मको जिम्मा गाडीको ड्राइभरले लिएको थियो ।
पहलगाम एउटा चिटिक्क परेको डाँडा रहेछ, त्यहाँको पर्यटकीय क्षेत्र । विभिन्न फिल्मको सुटिङ पनि भएको रहेछ त्यहाँ । तर, हामी नेपालीलाई त्यस्तो खास लाग्ने कुरोचैँ केही थिएन ।
सालका बोटहरू भएको उक्त डाँडामा घोडा चढेर जानुपर्ने रहेछ । हामी विद्यार्थीसँग त्यत्रो पैसा कता हुनु ! हामीले हिँड्ने भनिरहँदा ‘हिँडेर कहाँ सकिन्छ र ?’ भन्दै थिए अरू ।
हिँड्दै करिब एक घण्टामा पुगिने उक्त क्षेत्रमा खच्चड चढेको प्रतिव्यक्ति सायद तीन सय रुपैयाँ थियो । त्यसैले हामी हिँड्ने भनेरै आधा बाटो हिँड्यौँ ।
पछि त ‘ल, एक सयमै हिँड’ भनेर ती आए । हामीलाई पनि टाढै होला लाग्यो र खच्चड चढ्यौँ । पछि थाहा भयो, त्यो त हिँडेरै सकिने रहेछ ।
‘पियर प्रेसर’ भन्ने शब्द साइकोलोजीमा थियो, सबै पर्यटकहरू घोडाबाट सफर गर्दा हामी मात्र बेबकुफ रहेछौँ भन्ने सोचेर चढ्नुपर्यो ।
त्यहाँ विभिन्न स्पटलाई नाम दिइएको रहेछ, अनि मिनि स्वीट्जरल्यान्ड पनि भनिएको रहेछ ।
पहल अर्थात् भेडा चराउने ठाउँ, गाम अर्थात् गाउँ । भेडा चराउनेहरूको गाउँबाट राखिएको नाउँ । त्यहाँ भगवान् शिवले आफू अमरनाथ गुफा प्रवेश गर्नुअगाडि गण नन्दीलाई त्यहीँ छोडेको मान्यता रहेछ ।
ब्रिटिस शासनकालमा उनीहरूले यस क्षेत्रलाई ट्रेकिङ गर्न छुट्ट्याएका रहेछन् । हामीलाई भने त्यस्तो खासै केही लागेन । बरु, गुलमार्ग घुमेको भए हुनेरहेछ भन्ने लाग्यो ।
त्यहाँबाट फर्किंदा हिम्मत गरेर एउटा साथीले ड्राइभरलाई सोध्यो, ‘युद्ध हुँदा कस्तो थियो होला है यो ठाउँ ?’
बल्ल ती ड्राइभर खुलेर कुरा गर्न थाले, ‘बाहिर सुन्दा हामीलाई नराम्रो भन्छन्, तर युद्ध हुँदा राज्यले हामीमाथि धेरै दमन गरेको थियो । त्यस समयमा प्रहरीले हाम्रो घरका चेलीहरूलाई बलात्कार गर्नेदेखि सबैलाई मार्नेसम्मको काम गरेको थियो । अहिले पनि भारत–पाकिस्तानबीच क्रिकेट म्याच हुँदा म पाकिस्तानलाई नै समर्थन गर्छु । यो पुस्तालाई त्यही विगतको रिस हो । हिजो दमन गरेर आफ्नो पक्षबाट मात्र कथा सुनाइयो, हामीलाई नराम्रो बनाइयो ।’
ती ड्राइभरले हाम्रो कौतूहल पनि मेटिदिए, त्यो होटेल त्यहाँको एक ‘डन’को रहेछ ! साहुले आफ्नो होटेलमा आएका पाहुनालाई एकदम माया गर्ने रहेछन् । पाहुनाको हैसियत हेरेर मूल्य पनि लिने गरेका रहेछन् । सायद त्यही भएर होला, हामीलाई त्यहाँ बस्दा निकै सस्तो पनि लागेको थियो । हामीले बल्ल बुझ्यौँ ।
त्यहाँ पर्यटकहरू आएर महिनौँ पनि बस्छन रे ! होटेलका साहु सकिल भाइले सायद त्यसबखत श्रीनगरमा हामी भर्खरका युवा हिन्दु समुदायलाई संरक्षण पनि गर्न खोजेका थिए भनेर हामीले आत्मविश्लेषण गर्यौँ ।
एकप्रकारले डर लाग्यो, एक किसिमको खुसी पनि महसुस भयो । आफू मुस्लिम भएता पनि हामी हिन्दु भएकोमा उनले कुनै विभेद गरेका थिएनन् । उल्टै विभिन्न तरिकाले सहयोग मात्र गरिरहे ।
त्यहाँ मुस्लिम मुस्लिमबीच एकता रहेछ । उनीहरू हिन्दुभन्दा पनि राज्यप्रति बढी असन्तुष्ट रहेछन् ।
ती ड्राइभरले हामीलाई जम्मु जाने गाडी चढाई मात्र दिएनन्, ठग्न सक्छन् भनेर मूल्य पनि आफैँ मिलाइदिए ।
हामी घुम्न हिँडेको करिब दश दिन भइसकेको थियो । दाह्री बढेर झुप्प भएको थियो । गाडी चढेपछि अर्का ड्राइभरले अन्य यात्रुलाई अमरनाथ जाने बाटो देखाए । हामीले पनि कौतूहलपूर्वक झ्यालबाहिर हेर्यौँ । अनि, ती ड्राइभर एकाएक रिसाए, ‘तिमीहरूलाई केको चासो नि हाम्रो अमरनाथप्रति ?’
हामी झसंग भयौँ । बुझ्दै जाँदा ती ड्राइभरले हामीलाई मुसलमान ठानेका रहेछन् । सायद हाम्रो झुप्प परेको दाह्री देखेर हुनुपर्छ । अलमलिँदै हामीलाई लाग्यो, ‘हाम्रो’ अर्थात् भारतको, ‘तिम्रो’ अर्थात् नेपालको भनेको होला ।
हामी नेपाली भनेर कसरी थाहा भयो ? भाषाबाट होला भन्ने लाग्दा लाग्दै पनि सोध्यौँ ।
‘न ठग, तिमीहरू मुस्लिम हौ’ भनेर उसले हाम्रो कुरा पत्याउँदै पत्याएन । पासपोर्ट त थियो हामीसँग, तर उसलाई किन देखाउनु ! फेरि, अरू केही गरिदेला भन्ने डर पनि थियो ।
हामीले हामी हिन्दु प्रमाणित गर्न आफ्नो जनै देखाउनुपरेको थियो । अनि, ऊ फेरि करायो, ‘हिन्दु भएर त्यस्तो ठाउँ घुम्न जाने ? बुद्धि छैन तिमीहरूको ?’
यसरी यसरी आएको भनेर ड्राइभरलाई भनेपछि ‘त्यहाँ फेरि पनि घुम्न जाने हैन’ भन्दै सम्झाउन थाल्यो, ‘त्यो हाम्रो ठाउँ नै हैन ।’
एउटा साथीलाई रिस उठ्यो । भन्यो, ‘अनि, किन गाडी चलाउनु त त्यहाँ ?’
ऊभित्रको रिस आफ्नो ठाउँमा थियो सायद, तर पेट पाल्न त्यस्तो काम गर्नैपर्ने बाध्यता थियो होला ।
राति तीन बजेतिर रेल्वे स्टेसनभन्दा दुई किलोमिटरजति अगाडि रोकेर हामीलाई अलपत्र पारेर ऊ आफ्नो बाटो लाग्यो । हामी जसोतसो स्टेसन पुग्यौँ र दिल्लीका लागि हिँड्याँै ।
लद्दाख बौद्धहरूको, श्रीनगर मुसलमानहरूको र जम्मु हिन्दु बाहुल्य भएको कश्मीर राज्य रहेछ । आफ्नै चालचलन, आफ्नै संस्कृति, आफ्नै मान्यता र विश्वासले भरिएको ठाउँ रहेछ त्यो ।
केहीअघि त्यही पहलगाममा भएको आतंककारीको हमला सायद त्यसै प्रकारको एउटा आक्रोश थियो । आतंककारीको उक्त हमलाबाट २८ पर्यटक – कोही पुणेका, कोही गुजरातका, कोही अरूणाचलका, कोही अन्य राज्यका, नेपाली पनि थिए, जसको कुनै गल्ती थिएन – जसलाई त्यहाँको राजनीतिसँग चासो पनि थिएन, तिनले अनाहकमा आफ्नो ज्यान गुमाउनुपरेको थियो ।
बुटवलका २७ वर्षीय सुदीप न्यौपाने सायद हामीझैँ पूर्ण रूपले घुम्ने उद्देश्य राखेर त्यहाँ गएका थिए होलान्, उनले बिनाकारण ज्यान गुमाए ।
पहलगाममा साथी गौरव, रुसेन र म ।