site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालको हवाई भाडा महँगो भयो, समीक्षा गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आयोजनामा काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टको उद्घाटन समारोहमा उनले नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिए ।

मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न सहयोग गर्ने उनको विश्वास छ । अध्यक्ष ढकालले मार्टलाई थप परिष्कृत गर्न र नेपालका लागि ब्रान्डको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

Argakhachi Cement Island Ad

उनले बौद्ध पर्यटन प्रवर्धनका लागि नेपालको लुम्बिनीसहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थल तथा भारतमा रहेका तीर्थस्थलसँग जोडेर बौद्ध सर्किट विकास गर्नुपर्ने बताए । अध्यक्ष ढकालले विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तीमा एकपटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्ने सन्देश दिनुपर्ने बताए । सोहीअनुरूप पर्यटक आगमन बढाउन सके नेपालको पर्यटनको सबै आयाम परिवर्तन गर्न सकिने उनको धारणा छ ।

उनले नेपालको हवाई भाडा महँगो रहेको र सरकारले टिकटमा भ्याट लगाउँदा भाडा थप महँगो भएको बताए । यसमा समीक्षा गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

अध्यक्ष ढकालले नेपालमा पर्यटनको विशाल सम्भावनालाई ध्यानमा राख्दै सरकार र निजी क्षेत्रले मिलेर लाभ उठाउन सक्ने उल्लेख गरे । उनले विदेशी लगानीकर्तालाई पनि नेपालमा पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना भएकाले लगानी गर्न आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्