site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ईसेवामा बेला–बेला किन आउँछ समस्या ? जुन मोबाइलमा सिम छ उसमा मात्रै खाता खोल्न मिल्ने

काठमाडौं । एफ वान सफ्ट ग्रुपले सञ्चालन गरेको ईसेवाको सिस्टममा केही दिनदेखि बेला–बेला समस्या आएको गुनासो बढेको छ । 

ईसेवालाई सम्पर्क गर्दा प्रतिक्रिया नआएको सेवाग्राहीको गुनासो छ । तर, ईसेवाले नयाँ सिस्टम अपडेट गर्दा बेला–बेला समस्या आएको ईसेवाका चिफ स्ट्राटेजी अफिसर (सीएसओ) रवि शाक्यले बताए ।
पहिलेको तुलनामा ईसेवाका प्रयोगकर्ता बढ्दै गएका छन् । 

थोरै प्रयोगकर्ता र मर्चेन्टमार्फत सेवा सुरू गरेको ईसेवाका सेवा र प्रयोगकर्ता बढिरहेका छन् ।  १० वर्षे यात्रामा विश्व जगतमा आएका प्रविधिका परिवर्तनलाई ईसेवाले पनि अवलम्बन गर्दै आएको छ ।  ईसेवासँग जोडिएका सेवाग्राहीको सुरक्षा र गुणस्तरीय सेवा दिनु पहिलो प्राथमिकतामा पर्ने शाक्य बताउँछन् ।

हालै ईसेवाले नयाँ सिस्टम अपडेट गराएको छ । यो सिस्टम विकास गर्दा सेवाग्राहीमा केही असहजता देखिएको शाक्य बताउँछन् ।  तर, सकेसम्म समस्या नआउने गरी काम गरिएको उनको भनाइ छ । 

“पहिले थोरै ग्राहक थिए । अहिले ग्राहक बढ्दै गएका छन् । ग्राहक बढेसँगै त्यो अनुसारको सिस्टम विकास गर्दै जानुपर्ने हुन्छ । यसरी सिस्टम अपडेट गर्ने क्रममा केही समस्या उत्पन्न हुन्छन्,” शाक्यले भने, “तर, हामीले सकेसम्म समस्या आउन नदिने गरी काम गरिरहेका हुन्छौं । पछिल्ला दिनमा ग्राहकले केही असहजता महसुस गर्नुभएको हामीले पनि बुझेका छौं ।”

ईसेवाले नेपालमा कसैले प्रयोग नगरेको प्रविधिको प्रयोग गरिरहेको शाक्यले बताए ।  हालै ईसेवाले ‘क्यासेन्डा’ डाटा बेसको सुरुवात गरेको जनाएको छ ।  यो धेरै नै एड्भान्स प्रविधि हो । परम्परागत शैलीमा चलेका डाटाबेसलाई परिवर्तन गर्दा केही समस्या आएको उनको भनाइ छ ।   

ईसेवामा धेरै कम्पनीका सिस्टम जोडिएका छन् । ईसेवा भनेको पेमेन्ट गेटवे मात्र भएकाले अरू सेवा प्रदायकमा आएको समस्याले पनि प्रभाव पर्ने शाक्य बताउँछन् । ईसेवामा आवद्ध भएका सेवा प्रदायकको आफ्नै सेवा सिस्टम छैन ।

जस्तै एयरलाइन्सको टिकेट, सिनेमाको टिकेट, बिजुलीको बिल, एनसेल र एनटीसीको सिस्टममा टपअपलगायतका सेवा  ईसेवासँग जोडिएका छन् ।  यस्ता नौ सय भन्दा बढी सेवाप्रदायक कम्पनीसँग ईसेवाको सिस्टम जोडिएको छ । 

ईसेवाले धेरै सेवा प्रदायकको गेटवेका रूपमा काम गर्ने गरेको छ ।  यीमध्ये एउटामा मात्र समस्या आए पनि ईसेवा एप प्रयोगकर्ताले ईसेवाको समस्या भनेर बुझ्ने गरेका छन् ।  ईसेवाबाट क्यूआर गर्दा फोनपेको सिस्टमसँग जोडिएको हुन्छ । 

शाक्यका अनुसार ईसेवासँग जोडिएका सिस्टममा समस्या आउँदा पनि ईसेवामा नै देखिन्छ ।  ईसेवासँग जोडिएका मर्चेन्टहरूले ईसेवाको रिक्वेस्ट ह्याडलिङ गर्न नसक्दा पनि समस्या आउने गरेको छ । 

“ईसेवासँग प्रत्यक्ष रूपमा ग्राहक जोडिएको हुँदा ईसेवामा नै समस्या आयो भन्ने परेको छ,” शाक्यले भने । सेवा प्रदायकसँग ईसेवा जोडिएको हुँदा अन्यत्र आएको समस्याको भागिदार ईसेवा हुनु परेको शाक्य बताउँछन् । 

सेवाग्राहीको अनुरोध इसवाले सेवाप्रदायकसँग पठाउने गरेको छ । ईसेवासँग जोडिएका सेवा प्रदायकहरूका सिस्टममा समस्या अउँदा पनि ईसेवाले नै गाली खान परेको उनी बताउँछन् ।

“ईसेवाको कारण मात्र समस्या आउँदैन । हामीसँग जोडिएका मर्चेन्टहरूको सिस्टमको क्यापासिटीले पनि भर पार्छ,” उनले भने, “तर, अग्रपंक्तिमा देखिने ईसेवा गाली खानेमा परेको छ । ईसेवाको पैसा बैंकमा ट्रान्सफर गर्दा बैंकले नै पैसा रिसिभ गर्न सकेन भने ईसेवाले पठाएर जाँदैन ।”

ईसेवाले धेरै सेवाहरू फ्रि मै दिँदै आएको शाक्यको भनाइ छ । बिजुलीको बिल तिर्दा तथा कर तिर्दा राष्ट्र बैंकले तोकिदिएको शुल्क लिने गरेको शाक्य बताउँछन् । 

यसमा पनि पाँच देखि १० रुपैयाँ मात्र सेवा सुल्क ईसेवाले लिने गरेको शाक्यको भनाइ छ । ईसेवाले साइबर सेक्युरिटीलाई अझ बलियो बनाउन केवाईसी भर्नलाई कडाइ गरेको उनले जानकारी गराए । ईसेवाको विश्वासलाई मजबुद बनाउन रजिष्टर्डलाई पनि कडाइ गरेको छ ।

अब जुन मोबाइलमा सिम छ, त्यही मोबाइलबाट मात्र ईसेवा आईडी बनाउन सकिनेछ ।  


 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्