site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ताप्लेजुङ दुर्घटना प्रतिवेदन : 'पोलको इन्सुलेटर फुस्किनु'सहित यी हुन् कारण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले विद्युत् सेवा वितरणमा देखिएको लापरबाहीलाई असह्य ठहर गर्दै विद्युत् सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् ।

ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो  विद्युत्‌को झुकेको तारमा अल्झिएर दुर्घटना भएको घटना थियो । जसमा चारजनाको मृत्यु र दुईजना  गम्भीर घाइते भएका थिए । मन्त्री खड्काले यस्ता दुर्घटनाक दोहोरिन नदिने प्रतिबद्धता जनाए ।

Argakhachi Cement Island Ad

मन्त्री खड्काले दुर्घटनाको छानबिन गर्न गठन गरिएको चार सदस्यीय समितिको प्रतिवेदन बुझेसँगै सम्बद्ध निकायलाई तुरुन्त सुधारात्मक कदम चाल्न निर्देशन दिए । प्रतिवेदनमा पोलको इन्सुलेटर फुस्किनु, दृश्यता कमजोर हुनु, सवारीको छतमा राखिएको संरचनाले विद्युत् तार छोएको र विद्युत् प्रवाह रोक्ने सुरक्षा प्रणालीले काम नगरेको जस्ता गम्भीर कमजोरीहरू औंल्याइएको छ ।

“राज्यले विद्युत् पूर्वाधारमा ठूलो लगानी गरिरहे पनि केही कर्मचारीको लापरबाहीले आमनागरिकको ज्यान जोखिममा पारिएको छ । अबदेखि यस्ता घटनाप्रति शून्य सहनशीलता नीतिको अवलम्बन गरिनेछ,” मन्त्री खड्काले भने ।

उनले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन क्षतिपूर्तिको व्यवस्था मिलाउन समेत निर्देशन दिए ।

सरकार अब विद्युत् सुरक्षालाई केवल प्राविधिक विषयको रूपमा नभई नागरिक सुरक्षा र जनताको जीवन रक्षासँग प्रत्यक्ष जोडिएको विषयको रूपमा अघि बढाउने मन्त्री खड्काको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्