site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी केन्द्रप्रति जनतामा आशा पलायो : प्रचण्ड

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति जनतामा नयाँ आशा पलाएको बताएका छन् । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको बुर्तिबाङ आएको उनले यहाँ आयोजित आमसभामा पार्टी नयाँ गतिमा अगाडि बढिरहेको उल्लेख गरे ।

मध्यपहाडी जनजागरण अभियानमा आमनागरिकको गुनासा र सुझाव ग्रहण गर्दै पार्टी अगाडि बढिरहेको उनले बताए । उनले यो अभियानले देशमा नयाँ राजनीतिक वातावरण बनाउने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका उनले आउँदा दिनमा राष्ट्रिय एकतालाई सुदृढ गर्दै किसान, मजदुर, उत्पीडित वर्गका समस्या समाधानमा केन्द्रित हुने वातावरण बनाउने उल्लेख गरे ।

आफू प्रधानमन्त्री हुँदा देशमा ठूला परिवर्तन भएको भन्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय गौवरको आयोजना मध्यपहाडी लोकमार्गसहित अरू कतिपय योजना तत्कालीन समयमा थालनी गरेको जिकिर गरे । मध्यपहाडी लोकमार्गले मध्यपहाडमा बस्ने लाखौँ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको उनले विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले भने, “नेपालमा स्वच्छ र स्वस्थ राजनीति गर्ने परिपाटीको विकास भएको छैन । अबका दिनमा सबै राजनीतिक दल इमानदारीपूर्वक जनताका पक्षमा केन्द्रित हुनुपर्ने जरुरी छ । पार्टीले सुरु गरेको मध्यपहाडी जनजगरण अभियानमा माओवादी केन्द्रप्रति जनताको आशा पलाएको पाएका छौँ । यो यात्रा आमनागरिकको सुझाव ग्रहण गर्ने र पार्टीलाई मजबुत बनाउनका लागि हो ।”

पछिल्लो समय देशमा भ्रष्टाचार मौलाउँदै गएको बताउँदै उनले यसलाई न्यूनीकरण गर्न पार्टीले खबरदारी गर्दै आएको उल्लेख गरे । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्