site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘आईजीन कोड’ विवादले पियोर इनर्जीको सेयर दोस्रो बजारमा कारोबारमा आएन

काठमाडौं । पियोर इनर्जी लिमिटेडको सेयर साधारण सेयरधनीको खातमा आएको भए पनि दोस्रो बजारमा कारोबार हुन सकेको छैन ।

यो कम्पनीले गएको वैशाख ११ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो । आईपीओ बाँडफाँट भएको एक महिना बित्न लाग्दा समेत कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुन नसक्दा सर्वसाधारण सेयरधनी आश्चर्यमा परेका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)अन्तर्गतको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सेयर सूचीकरणमा विवाद झिक्दा दोस्रो बजारमा कारोबार हुन नसकेको कम्पनीले जनाएको छ ।

सीडीएससीकी प्रबन्ध निर्देशक प्रविन पन्दाकले आईपीओ जारी गरेका कम्पनीको संस्थापक सेयरमा इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर ‘आईजीन कोड’ कायम गर्नुपर्ने सर्त ल्याएपछि यो कम्पनी यही घानमा परेको छ । यस्तो नियमम यसअघि बैंक, वित्त र बिमा कम्पनीको संस्थापक सेयरमा लागु थियो ।

अब सबै कम्पनीमा यो नियम लागु गर्ने तयारीमा उनी छिन् । तर, नेपाल धितोपत्र बोर्डले पहिलेजसरी नै सेयर सूचीकृत गर्न पत्र लेखेको छ ।

कम्पनीले ०८१ चैत २८ देखि ०८२ जेठ २ गतेसम्म सर्वसाधारणमा ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीका संस्थापकतर्फका सेयरधनीको सेयर सूचीकरणमा अर्काे आईजीन कोड राख्नुपर्ने पक्षमा पन्दाक छिन् । कम्पनीको सेयर सूचीकरण समयमा नै नहुँदा सर्वसाधारण सेयरधनीलाई असर परेको पियोर इनर्जीको भनाइ छ ।

सीडीएसले ओम मेगाश्री फर्मास्यूटिकल्स, पियोर इनर्जी र इमर्जिङ नेपाल गरी तीन कम्पनीको संस्थापक सेयरधनीको सेयर डिम्याट खातामा नहालिदिएको जनाइएको छ । यो आईजीन कोडको विवाद इमर्जिङ नेपालको संस्थापक सेयरबाट उत्पन्न भएको स्रोतको दाबी छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्