
चितवन । भरतपुर विमानस्थलमा ठूला विमानको उडानलाई निरन्तरता दिने प्रयास भइरहेको छ । विभिन्न एयरलाइन्सले बेलाबेलामा ठूला विमान उडान गरे पनि नियमित गरेका छैनन् ।
केही महिनाअघि तामझामका साथ श्री एयरलाइन्सले परीक्षण गरेर ८० सिटे जहाज उडान सुरु गरेको थियो । तर, हाल बन्द भएको छ ।
सन् २००५ देसिख नियमित उडान गर्दै आएको बुद्ध एयरले पनि ठूलो विमान उडाउन प्रयास सुरु गरेको छ । हाल बुद्ध एयरले ४७ सिटको एटीआर–४२ बाट उडान भर्दै आएको छ । बिहीबार (जेठ ८) भने बुद्ध एयरले ७२ सिट क्षमताको एटीआर–७२ बाट परीक्षण उडान गर्यो ।
भरतपुर विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार २०० मिटर छ । एटीआर–७२ विमानलाई सहज उडान र अवतरणनिम्ति कम्तीमा एक हजार ५०० मिटर धावनमार्ग आवश्यक पर्छ ।
एटीआर–७२ विमानको अवतरणपछि क्याप्टेन प्रमोद थापाले सहज रूपमा उडान र अवतरण गर्न सकिएको बताए । विमानमा सँगै रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकको निर्देशनानुसार आफूहरूले विमान उडान र अवतरण गरेको उनले प्रतिक्रिया दिए ।
नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले आजको परीक्षण उडानको सम्पूर्ण विवरण अध्ययन गरी निर्णयमा पुगिने बताए । सम्भावना रहेमा दुई महिनाभित्रमा नियमित उडान गर्न सकिने उनको भनाइ छ ।
बुद्ध एयर भरतपुरका स्टेसन म्यानेजर भक्त बस्नेतका अनुसार, हाल दैनिक सात उडान काठमाडौं–भरतपुर र एउटा भरतपुर–पोखरा एटीआर–४२ बाट उडान हुँदै आएको छ ।
धावनमार्गसँगै रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्ने योजना धेरैअघिदेखि गरिए पनि सार्थकता पाउन सकेको छैन । रासस