site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रमन्त्री डा. राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच बिहीबारटोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहेकी मन्त्री डा. राणा र जापानी विदेशमन्त्री ताकेसीबीच टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । 

त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरिन् । 

उनीहरूका बीचमा नेपाल–जापान सम्बन्धको ७० बर्षे इतिहासका विविध पक्षहरूमा पनि कुराकानी भएको थियो । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउँदै छन् । 

भेटका अवसरमा मन्त्री डा. राणाले आगामी वर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । मन्त्री डा. राणाले त्यस अवसरमा नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई सहयोगका लागि जापानसँग आग्रह गरेकी थिइन् ।

मन्त्री डा. राणाले नेपालमा लगानीका लागि जापानी उद्योगी, व्यवसायीहरूलाई प्रोत्साहित गरिदिन विदेशमन्त्रीलाई आग्रह गर्दै नेपालमा लगानीका धेरै सम्भावना रहेका र नेपाल सरकारले वैदेशिक लगानीलाई सुरक्षा र सुनिश्चितता प्रदान गर्ने पनि बताइन् । 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्