
काठमाडौं । ‘हनी ट्र्याप’मा संलग्न आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गोदावारी नगरपालिका–१०, दमौराकी ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका–१७, सल्लाघारीकी ३४ वर्षीया आँचल श्रेष्ठ भनिने आँचल चौगुठी छन् ।
यौनशोषणको मुद्दा लगाइदिनेजस्ता धक्की दिँदै उनीहरूले एक व्यक्तिलाई पीडित बनाएको आरोप छ । त्यसरी तत्काल पाँच लाख रुपैयाँको चेक काट्न बाध्य बनाएको सूचनापछि काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
ममता काठमाडौंको कालोपुलमा बस्दै आएकी थिइन् । आँचल काठमाडौंकै हाँडीगाउँमा बसोबास गर्थिन् ।
प्रहरीका अनुसार, सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरूले पीडित भनिएका ती व्यक्तिसित चिनजान र सम्बन्ध बढाएका थिए । त्यसपछि ठमेलस्थित एक होटेलमा बोलाएर खाजा र मादकपदार्थ सेवन गराएर अचेत अवस्थामा उनको अश्लील तस्बिर खिचेका र भिडियो बनाएका थिए ।
फेसबुक मेसेन्जरमा उक्त तस्बिर र भिडियोको स्क्रिनसर्ट पठाई काठमाडौंमा घर र चार आना जग्गा दिनुपर्ने नत्र यौनशोषणको मुद्दा लगाइदिने धम्की दिएका थिए । र, पाँच लाखको चेक काट्न लगाएका थिए ।
बुधबार (जेठ ७) बेलुका उनीहरूलाई काठमाडौंको हनुमानस्थानबाट पक्राउ गरिएको उक्त कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
उनीहरूका साथबाट मोबाइल दुईथान र आँचल चौगुठीका नाममा काटिएको प्राइम कमर्सियल बैंकको पाँच लाख रुपैयाँको एउटा चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।
आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्दामा थप अनुसन्धान र कारबाहीनिम्ति उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयले जनाएको छ ।