site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
'सिमलेस दुबई–२०२५' मा नेपाल पविलियनको उद्घाटन

काठमाडौं । विश्वकै ठूलो तथा प्रभावशाली डिजिटल वाणिज्य र फिन्टेक प्रदर्शनी 'सिमलेस दुबई, २०२५' मा पहिलोपटक नेपाल पविलियनको औपचारिक उद्घाटन भएको छ । यसले नेपालको फिन्टेक र डिजिटल नवप्रवर्तन यात्रामा एक ऐतिहासिक मोड ल्याएको बताइएको छ ।

फिन्टेक एलायन्स नेपाल (फ्यान)को नेतृत्वमा सुरु गरिएको नवीन पहलले नौवटा अग्रणी नेपाली आईटी तथा फिन्टेक कम्पनीलाई एउटै राष्ट्रिय ब्यानरअन्तर्गत एकजुट गर्दै नेपालको नवीनता, आकांक्षा र अन्तर्राष्ट्रिय सम्भावनालाई विश्वमञ्चमा प्रस्तुत गरेको छ ।

तीन दिनसम्म चल्ने यस प्रदर्शनीको उद्घाटन समारोहमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर छेत्री तथा विश्वभरका प्रमुख कार्यकारी अधिकृत, सीएक्सओ र फिन्टेक अधिकारीको उपस्थिति छन् ।

यो पविलियन नेपाली सिर्जनशीलतालाई उजागर गर्न, सीमापार साझेदारी प्रवर्द्धन गर्न र विश्वव्यापी फिन्टेक खेलाडीलाई नेपालको डिजिटल अर्थतन्त्रमा उदाउँदै गरेका अवसर अन्वेषण गर्न निमन्त्रणा दिने उद्देश्यले डिजाइन गरिएको हो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर, सिटीटेक ग्लोबल, आईएमई लिमिटेड, एनएमबी बैंक, ल्याम्डा पेमेन्ट्स, माइक्रोब्यांकर नेपाल, प्रोग्रामिज, आइमार्क प्रालि र रारा ल्याब्स नेपालबाट सहभागी छन् ।

यस्तै, २९ सदस्य कम्पनीसहित फिनटेक एलायन्स नेपालले फिनटेक फ्राइडे र फिनटेक सोसियलजस्ता इकोसिस्टम निर्माण गर्ने कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्