-1718627850.jpg)
काठमाडौं । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ हो । औसत मितिअनुसार, नेपालमा मनसुन भित्रिन अझै तीन साता बाँकी छ । तर, देशका कतिपय स्थानमा लगातार वर्षा भइरहेको छ ।
लगातार पानी परे पनि तत्काल मनसुन नभित्रिने मौसमविद्को भनाइ छ । औसत मिति जुन १३ भन्दा पछि जाने सम्भावना कम रहेको तर तत्काल मनसुन सुरु हुने सम्भावना पनि नरहेको मौसमविद् विनु महर्जन बताउँछिन् ।
अहिले मनसुन भारतको एन्डामन एन्ड निकोबार आइल्यान्डमाथि आइपुगेको छ । “एन्डामन एन्ड निकोबार आइल्यान्डमाथि रहेको मनसुनलाई केरला आइपुग्न सामान्यतया चारदेखि पाँच दिन लाग्छ,” विनु बाह्रखरीसँग भन्छिन् ।
नेपालमा केरला, सिक्किम हुँदै पूर्वी नेपालबाट मनसुन भित्रिने हो । केरलामा रहेको मनसुन नेपाल आइपुग्ने औसत समय १० देखि १४ दिन हो ।
“तर, यो औसत समय हो । योभन्दा धेरै वा थोरै समयमा पनि मनसुन आउन सक्छ,” मौसमविद् महर्जन भन्छिन्, “कहिलेकाहीँ कुनै एक ठाउँबाट अर्को ठाउँमा छिटो गएर कुनै स्थानमा पुगेर लामो समयसम्म पनि मनसुन अगाडि बढ्दैन ।”
त्यसैले यही मितिमा मनसुन भित्रिन्छ भनेर अहिले नै आँकलन गर्न नसकिने उनको भनाइ छ ।
मौसविद् सुदर्शन हुमागाईंले अहिलेदेखि मनसुन भित्रिने समयसम्म वर्षा भइरहने बताए ।
यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यो पनि पढ्नुहोस्