
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार युक्रेन र यसका साझेदारहरूले रूस–युक्रेन युद्ध अन्त्य गर्न उच्चस्तरीय बैठक आयोजना गर्ने तयारी गरिएको घोषणा गरेका छन् । यसमा अमेरिका युरोपियन युनियन (ईयू) देशहरू र ब्रिटेन पनि सहभागी हुने जेलेन्स्कीले बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दुईपटक टेलिफोन वार्ता गरेपछि युक्रेनको राजधानी किभमा पत्रकारहरूलाई सम्बोधन गर्दै जेलेन्स्कीले यो बैठक चाँडो गर्ने प्रयास गर्ने बताए । टर्की, भेटिकन वा स्विट्जरल्यान्डले बैठक आयोजना गर्नसक्ने उनको भनाइ थियो ।
जेलेन्स्कीले भने, “हामी सबै पक्षहरूबीच उच्चस्तरीय टोलीहरूको बैठक आयोजना गर्ने विचार गरिरहेका छौँ ।”
जेलेन्स्कीले सोमबार ट्रम्पसँग एकल कुरा गरेपछि अमेरिकी राष्ट्रपतिले रूसी नेता भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका थिए । त्यसपछि फ्रान्स, फिनल्यान्ड, जर्मनी, इटली र युरोपियन युनियनका नेताहरूसहित अर्को वार्ता भएको थियो ।
ट्रम्पले पुटिनसँगको वार्तापछि रूस र युक्रेनले युद्धविरामका लागि तुरुन्तै वार्ता सुरु गर्ने दाबी गरे ।
तर, जेलेन्स्कीले ट्रम्पसँग पहिलो वार्तामा युक्रेनबिना रूससँग कुनै सम्झौता नगर्न भन्दै युद्धविराम र रूसमा प्रतिबन्ध जारी राख्न आवश्यक रहेको बताएका थिए । उनले भने, “म यसमा लागि परेको छु, यो हाम्रो लागि चुनौतीपूर्ण समय हो ।” याहुन्युज