site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस–एमालेले सरकार बनाउनुको उद्देश्य अझै पूरा भएको छैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ को निर्वाचनअघिसम्म वर्तमान गठबन्धन कायमै रहने दाबी गरेका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले सो दाबी गरेका हुन् । 

कांग्रेस–एमालेको सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएकाले ०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन कायमै रहने उनले बताए । कांग्रेस–एमाले ठूलो पार्टी भएकाले गठबन्धनमा कहिलेकाहीँ अनुकूलता र प्रतिकूलता हुने उनको भनाइ छ । 

दुई दलले समान हिस्सेदारी खोज्नु स्वाभाविक भएको उनको तर्क छ । भट्टराईले वर्तमान सरकार गलत ट्रयाकमा नरहे पनि गति बढाउन भने नसकेको जिकिर गरे । सरकारको आलोचना हुनु स्वाभाविक भएको भन्दै उनले सत्तारुढ दलकै नेताले गर्ने टिप्पणी र आलोचनाले दुई पार्टीबीचको सम्बन्ध नबिग्रियोस् भन्नेमा सचेत हुनुपर्ने सुझाव दिए । 

विभिन्न निकायका प्रमुख नियुक्त गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । त्यस्तै, भट्टराईले संविधान संशोधनका निम्ति राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै एजेन्डामा राष्ट्रिय सहमति कायम हुनुपर्ने जिकिर गरे । 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्