
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बदलिँदो विश्व परिवेशमा नेपालले कस्तो आर्थिक नीति अवलम्वन गर्ने भन्नेमा अलमल रहेको बताएका छन् । मंगलबार (जेठ ६) राजधानीमा आयोजित एक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
विकासमा फड्को मार्न सरकार ठूलोभन्दा पनि कर्मचारीतन्त्र बलियो बनाउनुपर्नेमा उनले जोड दिए । हालसम्म सरकार बलियो भन्ने मानसिकताले यहाँ विकासमा फड्को मार्न नसकेको उनको भनाइ थियो ।
परियोजना धितो राखेर ऋण पाउने व्यवस्था नगरेसम्म मुलुकको आर्थिक अवस्थामा सुधार नहुने उनले बताए । उनले उद्योग र कृषि क्षेत्रलाई कर नलाग्ने व्यवस्था नगरेसम्म यो अवस्था कायम रहने टिप्पणी गरे ।
“परियोजना धितो राखेर ऋण पाउने व्यवस्था नगरेसम्म यो अवस्था रहिरहन्छ । जग्गाको कुरा पनि नयाँ ढंगले गर्नुपर्ने अवस्था छ । जग्गालाई चक्लाबन्दी गर्न सकिन्छ । जमिनलाई चार क्याटेगोरीमा राखौँ,” उनले भने, “उद्योग र कृषिलाई ट्याक्स लाग्दैन भन्ने सुरु गरौँ ।”
उनले थपे, “आवास र जमिनमा बढी राजस्व लगाइदिएमा कसैले जग्गा थुपारेर बस्दैन । मूल्य आउने जग्गामा बढी राजस्व लगाएपछि मानिसले कहीँ कतै जग्गा थुपारेर बस्दैनन् । यी व्यवस्था सबै राजस्वबाटै समाधान हुन्छ ।”
वर्तमानमा देखिएको आर्थिक समस्या राजस्वबाटै समाधान हुने उनले बताए । राजस्व प्रणालीलाई परिपक्व बनाउनुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल