
काठमाडौं । भारतीय प्रहरीले पाकिस्तानका निम्ति जासुसी गरेको आरोपमा ११ जना भारतीय नागरिकलाई गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना दुई देशबीच हालैको चारदिने गम्भीर तनावपूर्ण अवस्थापछि भएको हो ।
भारतको एनडीटीभीले सोमबार प्रकाशित गरेको समाचारमा उत्तरी राज्य हरियाणा, पञ्जाब र उत्तर प्रदेशबाट नौजनालाई जासुसीको आरोपमा गिरफ्तार गरिएको च्यालन न्युज एसियाले उल्लेख गरेको छ ।
पञ्जाबका प्रहरी महानिर्देशक गौरव यादवले संवेदनशील सैन्य जानकारी चुहावट गर्ने दुई व्यक्तिहरूलाई पक्राउ गरेको सोमबार बताए । उनले भने, “विश्वसनीय गुप्तचर जानकारीका आधारमा पक्राउ परेका दुई व्यक्ति मे ६–७को राति पाकिस्तानी भूमिभित्र गरिएको भारतीय हमलासँग सम्बन्धित गोपनीय जानकारी साट्ने काममा संलग्न थिए ।”
प्रारम्भिक अनुसन्धानले उनीहरूले पाकिस्तानी गुप्तचर संस्था आईएसआईका अधिकारीहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेको र भारतीय सेनासँग सम्बन्धित महत्त्वपूर्ण जानकारी पठाएको पुष्टि भएको यादवले जनाए ।
हरियाणामा पनि गत हप्ता यस्तै आरोपमा एकजना भ्लगरलाई गिरफ्तार गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आरोपित महिलाले कम्तीमा दुईपटक पाकिस्तानको यात्रा गरेकी र त्यहाँका दूतावासका एक अधिकारीसँग उनको सम्पर्क रहेको प्रहरीले बताएको थियो ।
यसबाहेक विद्यार्थी, सुरक्षा गार्ड र व्यवसायीसमेत गिरफ्तार भएका छन् । इन्डिया टुडेले यस्ता ११ जना गिरफ्तार भएको रिपोर्ट गरेको छ ।
समाचारका अनुसार आरोपीहरूलाई सामाजिक सञ्जाल, आर्थिक प्रलोभन, झुटा आश्वासन, मेसेजिङ एप्स र पाकिस्तानको व्यक्तिगत भ्रमण आदिमार्फत जासुसी जालमा फसाइएको बताइएको छ ।
यी पक्राउ १९९९ पछिको दुई परमाणु शक्तिसम्पन्न छिमेकी देशबीचको सबैभन्दा तनावपूर्ण घटनापछि भएको हो । दुवै पक्षबाट भएको चारदिने मिसाइल, ड्रोन र गोलाबारी आक्रमणपछि भारत र पाकिस्तानबीच अहिले युद्धविरामको सहमति भएको छ ।