
काठमाडौं । भारतीय प्रतिपक्ष दलका नेता राहुल गान्धीमाथि त्यहाँको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले संगिन आरोप लगाएको छ ।
प्रतिपक्ष दलका नेता गान्धीले विदेशमन्त्री एस जयशंकरलाई ‘अपरेसन सिन्दूर’ सैन्य अभियानमा भारतीय वायुसेनाले कतिवटा युद्धक विमान गुमाएको हो त्यो विषयमा सत्यतथ्य नबताएको आरोप लगाएका थिए ।
भाजपाका प्रवक्ता सीआर केशवनले राहुल गान्धीले भारतीय सेनामाथि अविश्वास गरेको आरोप लगाएको समाचार संस्था एसियन न्युज इन्टरनेसनल जनाएको छ ।
राहुल गान्धीले देश, सरकार र भारतीय सेनाप्रति अविश्वास देखाउँदै आएको र अहिले उनी पाकिस्तानको प्रोपोगान्डा प्रमुख भएर बोलेको केशवनको आरोप छ ।
मे ११ मा भारतीय सेनाले गरेको पत्रकार सम्मेलनमा सबै तथ्यहरू प्रस्तुत गर्दागर्दै पनि राहुल गान्धीले सेनामाथि अविश्वास गरेको आरोप केशवनले लगाए ।
भाजपा नेता गौरव वल्लभले राहुल गान्धीले कति पाकिस्तानी विमान र मिसाइलहरू खसालियो भनेर सोध्नुपर्ने भन्दै तर कांग्रेस सांसदले यी प्रश्न नसोध्ने बताए ।
उनले भने, “राहुल गान्धीले भारतीय विमान कति खस्यो भनेर सोध्दै छन् जबकि उनले पाकिस्तानी विमान कति खसे भनेर सोध्नुपथ्र्यो । तर उनी पाकिस्तानको भाषा बोल्छन् ।”
भाजपाले राहुल गान्धीमाथि यस्तो आरोप लगाउँदा प्रतिपक्षी दलहरूको गठबन्धन ‘इन्डिया गठबन्धन’ले भने गान्धीको पक्ष लिएका छन् ।
कांग्रेस नेतृ सुप्रिया श्रीनतेले भाजपालाई जवाफ दिँदै लोकसभा विपक्षी नेताले प्रश्न सोध्दा आक्रमण गर्नु गलत रहेको बताइन् । सरकारले पाकिस्तानलाई किन अपरेसन सिन्दूरको पूर्वसूचना दिएको र हाफिज सईद र मसूद अजहरलाई चेतावनी दिएर किन भाग्न दिएको भन्दै प्रश्न उठाइन् ।
डीएके पार्टीका प्रवक्ता टीकेएस इलंगोवनले राहुल गान्धीले केबल तथ्य सोध्दै गरेको बताउँदै भाजपाले यस विषयमा वक्तव्य दिनुपर्ने बताए ।
विपक्षी नेता राहुल गान्धीले सोमबार पुनः अपरेसन सिन्दूरमा भारतीय वायुसेनाले कति विमान गुमाए भन्ने विषयमा विदेशमन्त्री जयशंकर चुप लागेको आरोप लगाए ।