site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलमाथि प्रतिबन्ध लगाउने तीन देशको चेतावनी

काठमाडौं । बेलायत, क्यानडा र फ्रान्सका नेताहरूले गाजामा आक्रमण जारी राखेर सहयोगमा लगाएको प्रतिबन्ध नहटाए इजरायलमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । यसले प्रधानमन्त्री बेन्जामिन नेतान्याहू थप दबाब आएको रोयटर्सले जनाएको छ ।

इजरायली सेनाले शुक्रबार नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको थियो । सोमबार प्रधानमन्त्री नेतान्याहूले इजरायले गाजाको सबै भाग कब्जामा लिने बताएका थिए । अन्तर्राष्ट्रिय विज्ञहरूले गाजामा भोकमरी पर्न लागेको चेतावनी दिएका छन् ।

बेलायत सरकारले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “गाजाका जनतालाई आवश्यक मानवीय सहयोग दिन इजरायली सरकारले इन्कार गर्नु अस्वीकार्य छ र यसले अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लंघन गर्ने जोखिम छ ।”

“हामी पश्चिम किनारामा बस्ती विस्तार गर्ने कुनै पनि प्रयासको विरोध गर्छौं...। हामी प्रतिबन्धसहित थप कारबाही गर्न हिचकिचाउने छैनौँ,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रियामा नेतन्याहूले लन्डन, ओटावा र पेरिसका नेताहरूले अक्टोबर ७ मा इजरायलमा भएको नरसंहारलाई ठूलो पुरस्कार दिएर अत्याचारलाई बढावा दिइरहेको आरोप लगाएका छन् ।

उनले इजरायलले न्यायोचित तरिकाले आत्मरक्षा गर्ने र विजय नहुन्जेलसम्म लड्ने बताएका छन् । साथै, उनले युद्ध समाप्त गर्न हमासले बन्दी रिहा गर्ने र गाजालाई गैरसैन्यकरण गर्नुपर्ने सर्त पूरा गर्नुपर्ने दोहोर्‍याएका छन् ।

रोयटर्सबाट ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्