-1747710595.jpg)
भ्रष्टाचारका सन्दर्भमा शक्तिको स्रोत जहाँ हुन्छ, भ्रष्टाचारको स्रोत पनि त्यही हो । शासकीय शक्तिलाई नै भ्रष्टाचारको स्रोत मानिन्छ । अर्थात् भ्रष्टाचार ‘माथिल्लो तह’मै हुन्छ । भ्रष्टाचार निर्णयाधिकारी वा अख्तियारवालाले नै गर्छन् । यो सर्वव्यापी र सर्वमान्य सिद्धान्त हो ।
आर्थिक क्रियाकलाप जति बढ्दै गयो, त्यति नै भ्रष्टाचारले फराकिलो दायरा लिँदै गयो । जब निजी क्षेत्र, कर्पाेरेट संरचना बढ्दै गयो, तब भ्रष्टाचारको फैलावट हुँदै गयो । अझ जहाँ जति नियन्त्रित पद्धति हुन्छ, त्यहीँ बढी भ्रष्टाचार हुन्छ ।
पहिला हामीकहाँ ‘लाइसेन्स प्रणाली’ थियो । कुनै व्यवसाय वा उद्योगका निम्ति ‘लाइसेन्स’ प्राप्त गर्न शक्ति केन्द्रलाई दाम बुझाउनुपर्थ्यो या सेयर दिनुपर्थ्यो ।
अनि खुलापनसँगै भ्रष्टाचार रोकिन्छ भन्ने लागेको थियो । तर, खुलापनसँगै भ्रष्टाचारकै फैलावट भयो, शैलीमात्र फरक भए । त्यसकारण राज्य शक्तिको नै भ्रष्टाचारको स्रोत बन्न पुग्यो । हाम्रो परिप्रेक्ष्यमा हेर्ने हो भने बहुदलीय व्यवस्था पुनर्स्थापनासँगै एक समय (२०४८–२०५२१) सम्म भ्रष्टाचार साह्रै न्युन थियो । कसैलाई आरोपित गर्नु बेग्लै कुरा हो ।
म चुनौतीका साथ भन्छु, तत्कालीन कम्युनिष्ट पार्टीहरूले गिरिजाप्रसाद कोइरालालाई बदनाम गर्न भ्रष्टाचारलाई प्रोपागान्डा शैलीमा प्रचार गरेका हुन् । तर, कोइरालाको पछिल्लो जीवनकाल हेर्दा उहाँले त्यसरी भ्रष्टाचार गरेको प्रमाणित हुँदैन ।
कोइरालाबाट भ्रष्टाचार भएको कसैले पनि प्रमाणित गर्न सकेन । वास्तवमै भन्ने हो भने त्यतिबेला त्यस्तो ज्यादा भ्रष्टाचार थिएन । यतिखेर जस्तो संस्थागत भ्रष्टाचार छ, बिचौलियाको हालीमुहाली जस्तो छ, त्यतिखेर त्यस्तो थिएन ।
पछिल्लो कालखण्डमा त नियामक निकायकै नियुक्तिमा बिचौलिया खोज्ने र बिचौलिया हाबी भएकै छन् । त्यस्ता बिचौलिया सरकारी संयन्त्रमा दर्ता हुने पनि भएनन्, जसले कर पनि तिर्दैनन् । त्यतिखेर बिचौलिया शब्द प्रयोगमै थिएन ।
२०५२ पछि राजनीति भ्रष्टीकरणतिर अघि बढेको हो । हुन त, मैले यो बोलिरहँदा मानिसहरू रिसाउन सक्छन् । तर, भन्नैपर्ने के छ भने प्रजातन्त्रवादीभन्दा कम्युनिष्ट नामधारीहरू बढी भ्रष्टाचारी देखिएका छन्, तिनको सम्पत्ति र बसाईं हेर्दा हुन्छ । संसद् र सरकारमा रहँदाको अनुभवले त्यही देखाउँछ ।
नेपाली कांग्रेसभन्दा पनि एमाले र माओवादी बढी भ्रष्ट देखिए । कांग्रेसमा कतिबेला भ्रष्ट प्रवृत्ति देखियो भने प्रजातन्त्र या लोकन्त्रका लागि योगदान नगरेका, एक दिन पनि जेलनेल नखेपेकाहरू हाबी हुँदाका बखत भ्रष्टाचार र विकृति देखिएकै हो ।
तर, कम्युनिष्टहरूमा भौतिकवादी चिन्तन र बिलासी चरित्र निम्ति भ्रष्टाचार बढाएका हुन् । म स्वयम् सोभियत रुसमा पढेको हुँदा कम्युनिष्ट शैली पनि देखेको हुँ । रुमेनिया कम्युनिष्ट पार्टीका महासचिव र राष्ट्रपति निकोलाइ चाउचेस्कू रुस भ्रमण जाँदा सुनको बाथरुम प्रयोग गर्थे भनेको सुनेको हुँ ।
त्यतिखेर कम्युनिष्टहरूमा नेतृत्वलाई महिमामण्डन गर्ने, देवत्वकरण गर्ने उनीहरूको दर्शनकै एउटा अंग थियो । नेपालमा पनि विकृत रूपले कपी गरियो । नेपालका कम्युनिष्टहरूले पनि अक्कलबेगरको नक्कल गरेकै हुन् ।
तर, कम्युनिष्ट पार्टीकै केही नेताहरू चाहिँ सफा नै देखिएका हुन्, जस्तो मनमोहन अधिकारी । उहाँ प्रधानमन्त्री नै हुनुभयो, उहाँलाई दाग लगाउने ठाउँ थिएन । यद्यपि मदन भण्डारी कार्यकारिणी शक्तिमा पुग्नु भएन, उहाँको जीवनशैली हेर्दा र उहाँसँगका संगतका कारण भ्रष्टाचारलाई बढावा दिने खालका थिएन ।
२०४९ अन्त्यतिरको कुरा हो, हामी संसद्कै लबीमा कुराकानी गरिरहेका थियौं ।
त्यतिखेर एमालेमा गैरसरकारी संस्था (एनजीओ)लाई संस्थागत गरिनुपर्छ भन्ने बहस भइरहेको थियो । एमालेकै नेताहरूले निर्णय निम्ति त्यो कागज ल्याउनुभयो र उहाँले अनिच्छापूर्वक हस्ताक्षर गरेर पठाउनु भयो ।
एमालेका नेताहरू फर्किइसकेपछि भण्डारीले हामीसँग भन्नुभयो, ‘अब मेरा साथीहरू पार्टी अफिस होइन कि दूतावासहरू र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका अफिस जाने भए । अब के गर्ने साथीहरू यस्तै–यस्तै धन्दामा लागेका छन् । पार्टीगत चरित्र नरहने भयो ।’
त्यसरी उहाँले दुःख मानेको देखेको छु । त्यस्ता दृश्य अपवाद हुन् । म सार्वजनिक लेखा समितिको सभापति थिए, २०५१ पछि सीपी मैनाली आपूर्ति मन्त्री हुनुहुन्थ्यो । त्यतिखेर भारतबाट आयातित लेबीको चिनीमा अनियमिततासम्बन्धी विवाद आएको थियो ।
त्यतिखेर प्रधानमन्त्री मनमोहन अधिकारीले मलाई फोन गरी भन्नुभयो, ‘शक्तिले मानिसलाई भ्रष्ट बनाउँछ, झन् एकाधिकार शक्तिले अझ बढी भ्रष्ट बनाउँछ । हाम्रा साथीहरु चिनीमा फँसेका छन् । तपाईंले चिनीमा भएको के हो ? तपाईंले छानबिन गरिदिनुपर्यो । त्यसमा आवश्यक पर्यो भने मलाई पनि लेखा समितिमा बोलाउनु होला ।’
समितिले छानबिन तथ्यबाहिर ल्याएको हो । अधिकारीले सीपी मैनालीलाई पदबाट बर्खास्त नै गर्नुभएको हो । त्यतिखेर उच्च नैतिक मान्यता भएका नेता पनि थिए ।
तर पछिल्लो समय जति पनि नेताहरू, तिनमा नैतिक मूल्य–मान्यता र आर्थिक अनुशासन पटक्कै देखिएन । त्यो निरन्तर मात्र होइन कि कहाली लाग्दो अवस्थामा पुगेको छ । भ्रष्टाचार नेपाली राजनीतिको जीवन पद्धति नै बनेको छ ।
उदारवादसँगसँगै बिचौलिया बिगबिगी बढेकै छ ।
उदारवाद ब्यान्ड बाजा बजाएर आउँदैन, विकृति पनि सँगै लिएर आउँछ । हामी कहाँ उदारवाद प्राकृतिक ढंगले लागु भएको होइन । दातृ निकायका सर्त र हस्तक्षेपकारी भूमिकाका कारण पनि उदारवाद लागु गर्नुपरेको स्थिति छ ।
नेपाल सरकारको प्राथमिकता नपरेका कतिपय परियोजनाहरू बोक्नुपरेको छ, तिनै बिचौलिया भूमिका हाबी हुँदा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि अति आवश्यक भएर शुरु गरिएकोे होइन । कुनै बिचौलियाले यो ‘इपीसी मोडेल’मा बनाउँदा चीनले सजिलै ऋण दिन्छ भन्ने आकर्षक प्रस्ताव देखाएपछि सरकार लोभिएको हो ।
तिनै बिचौलियाले ‘फिट’ गराएको पोखरा विमानस्थलमा भएको कहाली लाग्दो भ्रष्टाचारको तथ्यांक हामी यतिखेर देखिरहेकै छौँ । म मन्त्री हुँदा ‘वाइ वान गेट वान’ मा साना जहाज खरिद गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको हो । त्यसका धेरै कुरा त भन्न मिल्दैन ।
तर, मन्त्रिपरिषद्मै आईकाओ (अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन) मान्यता नदिएको हुँदा खरिद नगरौं भनेकै हौं । त्यतिबेला बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । मन्त्रिपरिषद्को समितिमा त्यो विषय पुगेपछि मैले पनि खरिद गर्नु हुँदैन भनेकै हुँ । समितिमा रहेका अरु मन्त्रीहरूले पनि साथ दिएकै हुन् ।
तर, तत्कालीन प्रधानमन्त्री भट्टराईले लाचारी प्रकट गर्दै भन्नुभयो, ‘राजनीतिक ठूला नेताहरूको यसमा आग्रह र दबाब छ, लिनैपर्ने भयो ।’ आज ती जहाजको हालत के छ, दुनियाँले देखेकै छ । ती जहाज कवाडमा पनि गइरहेको छैन । त्यसले ऋणको भार बोकाएकै छ, मुलुकको वायु सेवा निगमका निम्ति घाँडो बनेको छ ।
अब बिचौलिया यति हाबी भइसकेका छन् कि तिनीहरू कहाँ छैनन् भनी खोज्नुपर्ने स्थिति पैदा भएको छ । दुई महिनादेखि गभर्नर नियुक्त हुन नसक्नुमा पनि बिचौलियाकै करामत हो । यो भन्दा लाजमर्दाे स्थिति के होला ?
बिचौलिया संरक्षण गर्ने ठूला पार्टीका शीर्षस्थ नेताहरू नै हुन् । म त नामै लिएर भन्छु, केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड हुन् । तीनैवटा नेताका बेडरुमसम्मै तिनको पहुँच छ । ती बिचौलियाले तिनै पार्टीका मध्यम र तल्ला तहका नेतालाई त मान्छेसमेत गन्दैनन् ।
मैले त यस्तोसम्म पनि देखेँ कि मध्यम र तल्ला तहका नेताहरूले बिचौलियाकै साहरा लिँदै शीर्ष नेता भेट्नुपर्ने स्थिति बनेको छ । नेताको विश्वास प्रस्ताव गर्न पनि बिचौलियाको साहरा लिनुपर्ने भएपछि कस्तो राजनीति बन्यो होला त ?
बिचौलिया छ्याप्छ्याप्ती भएकै कारण लोकतन्त्र परलोकतन्त्र हुँदैछ । अर्थतन्त्र ध्वस्त हुँदैछ । नेपाल राष्ट्र बैैंकभित्रकै कर्मचारी गभर्नर बन्न नपाओस् भनी निजी बैंक र बिचौलियाको संयुक्त प्रयास निरन्तर छ ।
उनीहरू त्यसमा सफल हुँदैछ । डा. गुणााकर भट्ट नरुचाइनुको कारण पनि त्यही हो ।
डा. भट्ट उच्च नैतिकता भएका गतिशील व्यक्ति भएको हुँदा यिनबाट अनुचित काम गराउन सकिँदैन भनी पार लगाइएको हो । किनभने बैंकहरूको कुनै न कुनै समस्या नेपाल राष्ट्र बैंकमा अल्झिएकै छ । आलीले नै बाली खाएपछि कसको के लाग्छ र ? स्थिति त्यस्तै छ । अब बाली जोगाउने कसले ? यतिखेरको स्थिति के हो भने आलीले बाली खाएकै छ ।
अब पद्धतिको कुरा गर्ने हो भने यो प्रणालीका लागि लडेका आमाहरू यतिखेर हुनुहुन्न । यतिखेर धाइआमाहरू जोगाउने प्रयत्न गर्दै हुनुहुन्छ । जसले जन्मायो, जसलाई सन्तानप्रतिको मोह थियो, ती रहेनन् । ती कि त स्वर्गीय भए या बाँचेकाहरू पर धकेलिएका छन् ।
अब यो प्रणालीप्रति ठ्याक्कै मोह या विश्वासै नभएकाहरू धाइआमाले यो प्रणाली अघि बढाएपछि के हुन्छ ? यो प्रणालीमाथि संकट आउनुको कारण पनि त्यही हो । बच्चा धेरै रोए भने धाइआमाले त उठाएर फालिदिन्छन् ।
आफूले जन्माएको भए पो माया–मोह हुन्थ्यो । यतिखेरको स्थिति त्यही हो, धाइआमाहरूको हातमा प्रणाली छ । यो सुन्दा कटु लाग्न सक्छ, तर सत्य चाहिँ यही हो ।
(पूर्वमन्त्री त्रिपाठीसँग बाह्रखरीले गरेको कुराकानीमा आधारित)