
काठमाडौं । अमेरिकाबाट स्वेच्छाले देश फर्कन चाहने आप्रवासीलाई निःशुल्क प्लेन टिकट र एक हजार डलर आर्थिक सहयोग दिएर देश फिर्ता पठाउन सुरु गरिएको छ ।
यो योजनाअन्तर्गत पहिलो चरणमा ३८ जना होन्डुरसका नागरिकलाई अमेरिकाबाट स्वदेश फर्काइएको सीएनएनले जनाएको छ ।
होन्डुरसका उपविदेश मन्त्री एन्टोनियो गार्सियाले सोमबार दिउँसो रामोन भिलेदा मोरालेस अन्तर्राष्ट्रिय विमानस्थलमा ३८ जना होन्डुरस नागरिक पुगेको बताए ।
उनीहरूले अमेरिकाको अध्यागमन कार्यालय र होमल्यान्ड सुरक्षा विभागले उपलब्ध गराएको मोबाइल एप्लिकेसनमार्फत आवेदन गरेका थिए ।
उपविदेश मन्त्री गार्सियाले विमानस्थलमा पत्रकारहरूसँग भने, “यहाँ सबै किसिमका व्यक्तिहरू थिए । आमाहरूका साथमा बच्चा पनि थिए । प्रत्येकले अमेरिकी सरकारबाट एक हजार डलर पाएका थिए ।”
उनले ३८ जनामा बच्चाहरूको संख्या १९ रहेको बताए । होन्डुरस आप्रवासन निर्देशक विल्सन पाज रेयस्का अनुसार यीमध्ये कम्तीमा चार बच्चा अमेरिकामा जन्मिएका र एक मेक्सिकोमा जन्मिएको हुन् । पारिवारिक विछोड नहोस् भनेर अमेरिकी नागरिक हुँदाहुँदै पनि ती बच्चालाई आफन्तसँगै पठाइएको हो ।
निर्वासितमध्ये एक विल्सन साएन्जले निर्वासनको अनुरोध गरेपछि अधिकारीहरूले उनलाई टेक्सासको हुस्टनस्थित होटेलमा राखे । र, त्यहाँबाट विमानस्थल लगेर घर फर्किने उडान अघि खाना उपलब्ध गराइएको बताए ।
अर्का निर्वासित केभिन पोसाडासले स्व–निर्वासनको लागि आवेदन गरेपछि अधिकारीहरूले कहिले उपस्थित हुनुपर्छ भनेर सन्देश पठाएको बताए ।
अमेरिकाको होमल्यान्ड सुरक्षा विभागका अधिकारीका अनुसार उक्त उडानमा ६४ जना सवार थिए । उक्त उडानले होन्डुरसमा ३८ जनालाई उतारेपछि बाँकीलाई छोड्न कोलम्बिया जानेछ ।
अमेरिकी गृहभूमि सुरक्षा विभागले ५ मेमा अवैध प्रवासीहरूलाई आर्थिक र यात्रा सहयोग प्रदान गरी स्वदेश फिर्ता गर्न एप मार्फत सेवा सुरु गरेको घोषणा गरेको थियो । यो एप प्रयोग गरी स्व–निर्वासन चयन गर्ने कुनै पनि अवैध प्रवासीले एक हजार डलर आर्थिक सहयोग पाउनेछन् । सीएनएन