site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दुई घण्टा लामो फोन संवादपछि ट्रम्पले भने– रूस र युक्रेनले तत्काल वार्ता सुरु गर्नेछन्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा लामो टेलिफोन वार्तापछि रूस र युक्रेनले युद्धविराम र युद्धको अन्त्यको लागि तुरुन्तै वार्ता सुरु गर्ने बताएका छन् ।

वार्ता फलदायी भएको बताउँदै ट्रम्पले शान्तिको लागि आवश्यक विषयमा सहमति गरेर दुवै पक्षबीच वार्ता गर्नुपर्ने बताए ।

पुटिनले पनि युक्रेनसँग ‘भविष्यमा सम्भावित शान्ति सम्झौताको सहमतिपत्र’मा काम गर्न तयार भएको बताएको बीबीसीले जनाएको छ । तर, अमेरिका र युरोपका देशहरूले माग गरेको ३० दिने बिनासर्त  युद्धविरामको मागलाई उनले वार्तामा नउठाएको समाचारमा उल्लेख छ ।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि कुरा गरेका छन् । उक्त फोनवार्तामा जेलेन्स्कीले यो निर्णायक क्षण भन्दै अमेरिकालाई वार्ताबाट टाढा नहट्न आग्रह गरे ।

ट्रम्पले पुटिनसँगको वार्तालाई सकारात्मक बताए पनि शान्ति वार्ता कहिले हुने वा रुसले युद्धविरामको मागमा कुनै सहमति गर्न तयार छ कि छैन भन्ने बारेमा कुनै संकेत दिएका छैनन् ।

ट्रम्पसँग ‘वान टु वान’ वार्तापछि जेलेन्स्कीले युक्रेनले पूर्ण र बिनासर्त युद्धविराम चाहेको पुष्टि गर्दै रुस तयार नभएमा ऊविरुद्ध कडा प्रतिबन्ध लागाइनुपर्ने बताए ।

ट्रम्प–पुटिन वार्ता अघि जेलेन्स्कीले युक्रेनको सैद्धान्तिक विषय भन्दै युक्रेनबारे कुनै पनि निर्णय ऊ बिना गरिनु नहुने माग गरेका थिए । 

उनले ‘भविष्यमा सम्भावित शान्ति सम्झौताको सहमतिपत्र’ बारेमा विस्तृत जानकारी नभएको बताउँदै रूसबाट केही पाएपछि मात्र उनीहरूले आफ्नो दृष्टिकोण राख्न सक्ने बताए ।

टेलिफोन वार्तापछि सामाजिक संजालमा एक पोष्ट गर्दै ट्रम्पले लेखे, “रूस र युक्रेनले तुरुन्तै युद्धविराम र अझ महत्वपूर्ण युद्धको अन्त्यको लागि वार्ता सुरु गर्नेछन् ।” उनले जेलेन्स्कीलाई यो कुरा फोनमा सुनाएको र यसमा अन्य विश्व नेताहरू समेत सामेल भएको बताए ।

उनले थपे, “यसका सर्तहरूका बारेमा दुवै पक्षबीच वार्ता हुनेछ, किनभने उनीहरूलाई मात्र वार्ताका विवरणहरू थाहा हुनेछ ।” 

जेलेन्स्कीले वार्ता प्रक्रियामा अमेरिकी र युरोपेली प्रतिनिधिहरू उचित तहमा सामेल गरिनुपर्ने बताएका थिए । उनले भने, “अमेरिका वार्ता र शान्तिको खोजीबाट टाढा नजानु हामी सबैको लागि महत्वपूर्ण छ, किनभने यसबाट फाइदा लिने पुटिन मात्र हुनेछन् ।”

फोन वार्तापछि ह्वाइट हाउसको कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिका रूस–युक्रेन वार्तामा मध्यस्थता गर्ने कामबाट पछि नहट्ने बताउँदै  त्यसको पनि सीमा रहेको बताए । बीबीसी

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०६:५९
प्रतिक्रिया दिनुहोस्