
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका करोडौँ रुपैयाँ खर्चेर ल्याएका तीन थान प्रिन्टर साढे सात वर्ष हुँदा पनि प्रयोगमा ल्याउन नसकेको पाइएको छ ।
आयोगले २०७४ सालमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य तीनवटै तहको निर्वाचन सम्पन्न गरेको थियो । त्यस निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री छपाइका लागि आयोगले करिब २१ करोड ८३ लाख ४० हजार रुपैयाँमा तीन थान प्रिन्टर खरिद गरेको थियो ।
आयोगले २०७४ मंसिर २२ गते १० करोड ५५ लाख ४० हजार रुपैयाँमा एक थान हाई स्पिड कलर प्रिन्टर खरिद गरेको थियो । सोही मितिमा आयोगले ११ करोड २८ लाख रुपैयाँमा दुई थान छाङ स्प्रिङ डिजिटल मोनोक्रम खरिद गरेको थियो ।
यही विषयलाई महालेखापरीक्षकको कार्यालयले आफ्नो ६२औँ वार्षिक प्रतिवेदनमा पनि उठाएको छ ।
आयोगले अनावश्यकरूपमा प्रिन्टिङ मेसिन खरिद गरेको विषय संसद्को सार्वजनिक लेखा समितिमा समेत उठेको थियो । समितिले ती मेसिन प्रयोगमा ल्याउन पटकपटक निर्देशन दिँदा पनि आयोगले बेवास्ता गर्दै आएको छ ।