site stats
बाह्रखरी :: Baahrakhari
देश
ठूला आर्थिक अपराध हेर्न एसएसपी बोगटीको कमान्डमा नयाँ इकाइ  

काठमाडौं । प्रहरीमा आर्थिक अपराध हेर्नेगरी छुट्टै युनिटको स्थापना भएको छ । ठूला आर्थिक अपराध हेर्नेगरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमान्डमा नयाँ युनिट स्थापना भएको हो ।

प्रहरी प्रधान कार्यालयले वैशाख १७ देखि युनिट सञ्चालनमा आएको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार आर्थिक तथा वित्तीय अपराधको अनुसन्धान गर्नेगरी छुट्टै अनुसन्धान इकाइ गठन भएको हो ।

१९ जना नयाँ दरबन्दी कायम गरेर प्रहरी प्रधान कार्यालयले त्यसको कमाण्डमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा कार्यरत एसएसपी होविन्द्र बोगटीलाई खटाएको छ ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट नै स्वीकृति लिएर युनिट सञ्चालनमा ल्याएको हो । आर्थिक तथा वित्तीय अपराध युनिटमा कतिजना रहने र कमान्डमा कुन दर्जाको प्रहरी अधिकारी रहने भन्नेबारे भने थप गृहकार्य गरेपछि कायम गरिने एसएसपी थापाको भनाइ छ । 

हाललाई इकाइ राखिए पनि यसैलाई छुट्टै ब्युरोको रूपमा स्थापना गरिने थापाले बताए । उक्त युनिट भने सीआईबीकै मातहतमा रहनेगरी स्थापना भएको हो । 

यसको कार्यालयसमेत लाजिम्पाट स्थित सीआईबीकै भवनमा रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्