site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चाबहिलमा पर्यटकलक्षित ‘लक्जरीयस अपार्टमेन्ट’ बन्ने, १४ महिनामै हस्तान्तरणको योजना 

काठमाडौं । काठमाडौंको मुख्य क्षेत्र चाबहिलमा बहुतले अपार्टमेन्ट बन्ने भएको छ । भाटभटेनी सुपरमार्केटको नेतृत्वमा अपार्टमेन्ट बन्न लागेको हो । बुद्ध जयन्तीको अवसर पारेर सोमबार भूमि पूजनको काम सकिएको छ ।

चुच्चेपाटी चोकमै चार रोपनी क्षेत्रफलमा बन्न लागेको अपार्टमेन्ट १४ महिनामै तयार हुने भाटभटेनीका डाइरेक्टर कल्याण गुरुङले जानकारी दिए । डाइरेक्टर गुरुङ र रोड शो रियल इस्टेट प्रालिका डाइरेक्टर सागर गुरुङले भूमि पूजन गरेका थिए ।

ap2-1747036564.jpg
 

अपार्टमेन्ट शुभारम्भका लागि केही प्राविधिक काम बाँकी नै रहेको रोड शो रियल इस्टेट प्रालिका अध्यक्ष कालु गुरूङले जानकारी दिए । उनका अनुसार भाटभटेनी र आफूहरुको ‘संयुक्त प्रोजेक्ट’ का रुपमा यो अपार्टमेन्ट बन्दैछ ।

“यो विशुद्ध अपार्टमेन्ट हो । नक्सा पास भएको मितिले १४ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । स्वीकृतिको प्रक्रियामा छौँ,” उनले भने, “भवन नौ तलाको बन्ने छ ।”

बौद्ध क्षेत्रमा गरिएको सर्भेपछि आफूहरु निर्माणको तयारीमा लागेको उनले बताए । जहाँ ६४ युनिट रहनेछ । गुरूङको नेतृत्वमा काठमाडौं, पोखरालगायतका क्षेत्रमा प्रशस्तै हाउजिङ तथा अपार्टमेन्ट तयार भइसकेका छन् ।

kalyan-sagar-1747036565.jpg
 

अहिले पनि काठमाडौंको बूढानीलकण्ठ र पुल्चोकमा अपार्टमेन्टको काम भइरहेको र उत्साहजनक बुकिङ देखिएको उनले बताए ।

“चाबहिलमा बन्न लागेको यो प्रोजेक्ट हामी दुइ दाजुभाइ (मीनबहादुर गुरुङ र कालु गुरूङ) को ज्वाइन्ट प्रोजेक्ट हो,” उनले भने, “बौद्ध एरियामा लक्जरियस अपार्टमेन्ट आवश्यक सर्भेले पनि देखाएको हुनाले यहाँ निर्माण थालिएको हो ।”

उनका अनुसार बुकिङ गरेका ग्राहकलाई पूर्णरुपको फ्ल्याट हस्तान्तरण हुनेछ ।

kalu-gurung-1747036565.jpg
 

“बस्ने मान्छे एकैपल्ट परिवार लिएर आए हुन्छ । केही गर्नु पर्दैन । चाबी लिएर भित्र प्रवेश गर्दा हुन्छ, हामीले पूरा तयार पारेर दिनेछौँ,” उनले भने ।

मुलुकमा देखिएको आर्थिक संकटले अझै पनि राहत महसुस नगरे पनि आफूहरुको पेशा नै ‘घरजग्गा’ भएको त्यसमै काम गरिरहेको बताए । उनले अझै पनि ग्राहकमा उत्साह कमै देखिएको बताए ।

ap1-1747036564.jpg
 

“आर्थिक अवस्था त त्यति सहज छैन,” उनले भने, “हाम्रो पेशा नै यही हो । हामीसँग दुई हजार कर्मचारी छन् । उनीहरुलाई व्यस्त गराउन पनि हामीले निर्माणको काम रोकेका छैनौँ । हामीलाई आर्थिक अवस्था पक्कै सुधार हुँदै जान्छ भन्नेमा विश्वास छ ।”
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्