सामाजिक सञ्जालको प्रयोगमा सजग र इमानदार नहुने अभ्यास बढ्दै गएको छ । प्रविधिको विकाससँगै पहुँच पनि व्यापक भएकाले सामाजिक सञ्जालको प्रयोगमा पनि नकारात्मक प्रवृत्ति बढ्गएको हो ।
हुन त कुनै पनि माध्यमका प्रयोगकर्ताले समाजको अहित नहुनेगरी अभ्यास गर्नुपर्ने सर्त स्वीकार गरेका हुन्छन् । तर, समाजमा घृणा र द्वेष फैलाउनैका लागि सञ्जालका विभिन्न माध्यमको दुरुपयोग भएरहेको छ ।
भारतीय कश्मीरको पलगाममा आतङ्ककारीद्वारा २६ जनाको हत्या गरिएपछि भएको भारतको ‘कारबाही’ र पाकिस्तानी प्रत्युत्तरको क्रम बढेर पूर्ण युद्धमा पुग्ने जोखिम बढेको छ । युद्ध भइहाल्यो भने नेपालमा पनि त्यसको बाछिटा पर्न सक्छ ।
भारत(पाकिस्तानबीच द्वन्द्व चर्कन लाग्दा दुवै देशमा नेपालीहरू विशेषगरी विद्यार्थीहरू जोखिममा परेका छन् । उनीहरूको सुरक्षा र स्वदेश फिर्तीको विषयभन्दा नेपालीहरूले चलाएका सामाजिक सञ्जालमा भने घृणा र द्वेष फैलाउने सामग्री बढी सम्प्रेषण गरिएको देखिन्छ ।
एक जना नेपाली युवासमेत मारिएको पहलगाम आतङ्क समुदाय विशेषप्रति लक्षित देखिए पनि यो कुनै समुदायले मच्चाएको ताण्डव होइन । यो नितान्त आतङ्क हो भने आतङ्कारीको समुदाय, धर्म, देश वा समाज हुँदैन ।
सामाजिक सञ्जाल चलाउने व्यक्तिहरूको दृष्टिकोण र अभिव्यक्तिमा विभिन्नता हुनु पनि अस्वाभाविक होइन । तर, नियन्त्रण गर्न कठिन हुेने हुनाले सामाजिक सञ्जालको प्रयोगमा भने बढी सजग हुनु आवश्यक हुन्छ ।
विशेषगरी भारत(पाकिस्तान युद्धको सन्दर्भमा नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरू गैरजिम्मेवार बन्नु समाजकै लागि हानिकारक हुनसक्छ । तर, अहिले केही प्रयोगकर्ताहरूले भने स्थितिको गम्भीरतामा ध्यानै नदिएको देखिन थालेको छ ।
सामाजिक सञ्जालबाट सम्प्रदाय तथा मुलुक विशेषप्रति घृणा र द्वेष फैलाउने चेष्टा सफल बन्न नदिन राज्य पनि सावधान हुनुपर्ने देखिएको छ । समाजमा विद्वेषको विष नफैलँदै प्रभावकारी निगरानी र नियमन जरुरी हुन्छ ।
आशा गरौँ, सामाजिक सञ्जालका प्रयोगकर्ताहरू स्वयं नै परिस्थितिको गम्भीरता आफ्नो दायित्वप्रति सजग हुनेछन् । राज्यले नियन्त्रण गर्नुपर्ने अवस्था आउन दिनेछैनन् । कदाचित प्रयोगकर्ता गैरजिम्मेवार बने भने राज्यले उचित कारबाही पनि गर्नुपर्छ । समाजमा द्वेष र घृणा फैलँदा हुने क्षतिका तुलनामा सामाजिक सञ्जालको नियमन पक्कै महँगो ठहरिनेछैन ।