site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नेपालयको पुस्तक मेलामा ६० प्रतिशतसम्म छुट, प्रसाईंको पुस्तकबाट मेलाको आरम्भ 

काठमाडौं । पब्लिकेसन नेपालयले २० वर्ष पुगेको अवसरमा किताबमा विशेष छुटसहित पुस्तक मेला आयोजना गर्दै छ । नेपालयले आफ्ना प्रकाशनमा ६० प्रतिशतसम्म छुट दिने बताएको छ । 

वैशाख २७ र २८ गते शनिबार र आइतबार हुने दुई दिने पुस्तक मेलामा लेखकसँग भेटघाट र पुस्तकमा हस्ताक्षर पनि हुनेछ ।

पाठकहरूले आफ्ना प्रकाशन एकै ठाउँ छुट मूल्यमा किन्न सकुन्, लेखकसँग भेटको मौका पाऊन् भन्ने उद्देश्यले पुस्तक मेला आयोजना गर्न लागेको पब्लिकेसन नेपालयले जनाएको छ । 

“हाम्रो पहिलो पुस्तक पल्पसा क्याफेले धेरै पाठकको माया पायो,” पब्लिकेसन नेपालयका प्रमुख कार्यकारी सैजन मास्केले भनिन्, “२० वर्षदेखि पाएको मायाको सम्मानमा हामी आफ्नै अफिस कालिकास्थानमा पुस्तक मेला आयोजना गरेर पाठकलाई सुखद अनुभव दिने तयारीमा छौँ ।”

पुस्तक मेलामा नेपालयका ३० भन्दा बढी लेखकको उपस्थिति रहने मास्केले बताइन् । 

np-1746680788.JPG
लेखक अच्युतकृष्ण खरेल, अरुणा उप्रेती, आनी छोइङ डोल्मा, आभास, कालीप्रसाद रिजाल, किशोर थापा, कुमार नगरकोटी, गणेशप्रसाद लाठ, गिरीश गिरी, जीवनकुमार प्रसाईं, जेबी दर्लामी, तारानिधि भट्टराई, तुलसी भट्टराई, दिनेश अधिकारीसँग भेट हुनेछ । दुर्गा कार्की, नारायण वाग्ले, निमानन्द रिजाल, पद्मसुन्दर जोशी, महेशराज पन्त, लुज माथेमा, विप्लव प्रतीक, श्रवण मुकारुङ, सुदीप श्रेष्ठलगायतको उपस्थिति रहने मास्केले बताइन् । 

दुई दिने पुस्तक मेलाको आरम्भ जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’बाट हुनेछ । शनिबार बिहान ९ बजे पुस्तक मेला स्थलमा उक्त पुस्तक लोकार्पण हुनेछ ।

दश वर्ष पहिले नेपालयबाटै प्रसाईंको ‘जीवन जिउने काइदा’ प्रकाशन भएको थियो । यो पुस्तक पाठकको अत्यधिक रोजाइमा रहेको नेपालयले बताएको छ । यो पुस्तक नवौँपटक पुनःमुद्रण भइसकेको छ । 

प्रसाईंको नयाँ पुस्तक इमोसनल इन्टेलिजेन्समा केन्द्रित छ । “एआईको जमाना छ तर म इआई अर्थात् इमोसनल इन्टेलिजेन्सतिर लागेको छु,” लेखक प्रसाईं भन्छन्, “१० वर्षमा पाँच पुस्तक लेख्ने जाँगर मलाई असीमित पाठकहरूको प्रेमपूर्ण पठनले नै दिएको हो ।”

पुस्तक मेलाको समापन काव्य अनुष्ठानबाट हुनेछ । नेपालयले तीन वर्षदेखि ई–कविता शीर्षकमा हरेक साता एक कविता प्रसारण गर्छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्