site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
वियोगीको नियात्राकृति ‘समयले जुटाएको चिटचिट’ लोकार्पित

काठमाडौं । साहित्यकार वियोगी बुढाथोकीको पाँचौँ नियात्राकृति ‘समयले जुटाएको चिटचिट’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । नेपाली लेखक संघका अध्यक्ष समेत रहेका उनका यसअघि १७ पुस्तक प्रकाशित छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नियात्रा समाजका अध्यक्ष मोहन चापागाईंलगायतले उक्त कृति सार्वजनिक गरे । चापागाईंले कृति सार्वनजनिक गर्दै वियोगीका नियात्राहरूमा मानवीकरण भेटिने उल्लेख गरे । साहित्यकारको व्यक्तित्व तिनका कृतिमा भेटिने बताउँदै उनले कृतिभित्रका विभिन्न रोचक प्रसंगहरूको चर्चा गरे ।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा. कपिल अज्ञातले यात्रामा आँखा, मन र गोडा, तीनैको सन्तुलन हुनुपर्ने भन्दै तिनकै सन्तुलनले नियात्रा जन्मिने बताए । उनले वियोगीका नियात्रामा अनुभूति र सन्देश पर्याप्त रहेको बताए । 

अर्का समीक्षक अनुपमा रेग्मीले वियोगीका नियात्रामा अनुभूति र अभिव्यक्ति गहन रूपमा आएको बताइन् । कृतिकार बुढाथोकीले यो कृति आउनुको अन्तर्य बताए ।

शिवपुरी साहित्य समाजद्वारा आयोजित कार्यक्रममा सर्जकहरू विष्णुबहादुर सिंह, श्रीओम रोदन, प्रोल्लास सिन्धुलीय, भवानी खतिवडा, केशव पराजुलीलगायतले बोलेका थिए ।

पुस्तक भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्