
काठमाडौं । तपाईं केक, कुकिजजस्ता खानेकुराहरू खान मन पराउनुहुन्छ भने सतर्क हुनुहोस् किनभने यस्तो खानेकुराले मानिसको अकाल मृत्युको जोखिम बढाउन सक्छ ।
विश्वका आठ देशमा गरिएको एक अनुसन्धानको समीक्षापछि यो तथ्य बाहिर आएको हो । कोलम्बिया, चिली, मेक्सिको, ब्राजिल, अस्ट्रेलिया, क्यानाडा, ब्रिटेन र अमेरिकाबाट प्राप्त अल्ट्रा–प्रोसेस्ड (धेरै चरणहरूमा प्रशोधित भएको खाना) खाद्यपदार्थको तथ्यांक विश्लेषणपछि यो निष्कर्ष निकालिएको हो ।
यी तथ्यांकहरूको विश्लेषण ब्राजिलको ओस्वाल्डो क्रुज फाउन्डेसनमा गरिएको थियो । यो अनुसन्धान टिमलाई डा. एडुआर्डो निल्सनले नेतृत्व गरेका थिए ।
अध्ययनले के भन्छ ?
यो अध्ययनको नतिजा हालै अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित भएको छ । यसमा विज्ञहरूले सरकारहरूलाई अल्ट्रा–प्रोसेस्ड खाद्यपदार्थको प्रयोग कम गर्न आहार सम्बन्धी सुझाव र सिफारिसहरू जारी गर्न आग्रह गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार, सन् २०२२ को तथ्यांकमा ब्राजिलको आधा वयस्क जनसंख्याको तौल बढी थियो । देशमा चारमध्ये एक व्यक्तिमा चिकित्सकीय रूपले मोटोपन थियो । यसको अर्थ व्यक्तिहरू यस्तो अवस्थामा पुगिसकेका छन् जहाँ मोटोपन एक गम्भीर स्वास्थ्य समस्या बनिसकेको छ ।
फियोक्रुजले ब्राजिलको स्वास्थ्य मन्त्रालयलाई देशमा बढ्दो स्वास्थ्य समस्याहरूसँग सामना गर्न सहयोग गरिरहेको छ । आठ देशहरूमा अल्ट्रा–प्रोसेस्ड खाद्यपदार्थमा गरिएको अध्ययनले जहाँ अल्ट्रा–प्रोसेस्ड खानाको प्रचलन कम छ, त्यहाँ अकाल मृत्युको दर चार प्रतिशत थियो ।
यस्तो खाना धेरै खाइने ब्रिटेन र अमेरिकाजस्ता देशमा अकाल मृत्युको दर १४ प्रतिशत थियो । यसको गणना आधार एक वयस्क व्यक्तिले आफ्नो ऊर्जाको कति प्रतिशत आवश्यकता अल्ट्रा–प्रोसेस्ड खानाबाट पूरा गर्छ भन्ने थियो । उदाहरणका लागि ब्रिटेनमा एक वयस्क व्यक्तिले आफ्नो ऊर्जाको ५३ प्रतिशत आवश्यकता अल्ट्रा–प्रोसेस्ड खानाबाट पूरा गर्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार, उनीहरूको मोडलको आधारमा ब्रिटेनमा २०१८–१९ को समयमा १७ हजार ७८१ मृत्युलाई अल्ट्रा–प्रोसेस्ड खाद्यपदार्थसँग जोड्न सकिन्छ ।
अल्ट्रा–प्रोसेस्ड खानाका कारण दोहोरो नोक्सान
लन्डनस्थित किङ्स युनिभर्सिटीको पोषण विज्ञान विभागकी अनुसन्धान फेलो डा. मेगन रोसी भन्छिन्, “यी तथ्यांकहरू बढ्दै गइरहेका छन् । अल्ट्रा–प्रोसेस्ड खानाका कारण हुने मृत्यु अब मलाई धेरै आश्चर्य लाग्दैन ।”
उनले बीबीसीलाई भनिन्, “हामीलाई लामो समयदेखि खानाका केही कुराहरूमा फाइटोकेमिकल्स र फाइबर हुन्छन् जसले हाम्रा कोसिकाहरूलाई अक्सिडेसन र सुजनबाट जोगाउँछ भन्ने थाहा छ । यस्ता खाद्यपदार्थ हाम्रो शरीरलाई रोगबाट बचाउन आवश्यक छ ।”
शरीरमा अक्सिडेसन एक प्राकृतिक रासायनिक प्रक्रिया हो जसमा शरीरका कोसहरूले अक्सिजनसँग मिलेर फ्रि–रेडिकलहरू बनाउँछन् । केही फ्रि–रेडिकलहरूले शरीरलाई सामान्य रूपमा काम गर्न मद्दत पनि गर्छन् । इन्फ्लेमेसन भनेको शरीरले चोट, संक्रमण वा अन्य कारणले हुने क्षतिबाट जोगिन प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्ने प्रक्रिया हो ।
डा. रोसी भन्छिन् अल्ट्रा–प्रोसेस्ड खानाको दोहाृरो नोक्सान छ । यदि, तपाईंले यस्तो खाना खानुभयो भने यसको अर्थ तपाईंले फलफूल र तरकारीजस्ता एन्टी–अक्सिडेन्टयुक्त खाद्यपदार्थ खाँदै हुनुहुन्न ।
दोस्रो नोक्सान भनेको अल्ट्रा–प्रोसेस्ड खाना प्रि–डाइजेस्टेड हुन्छ । प्रशोधनले यसलाई तुरुन्तै खान योग्य बनाउँछ । तर, यसलाई खाएपछि चाँडै नै फेरि भोक लाग्छ र तपाईं फेरि यही खान थाल्नुहुन्छ ।
अल्ट्रा–प्रोसेस्ड खानाले स्वास्थ्यलाई कति नोक्सान पुर्याउँछ ?
शरीरमा जम्मा हुँदै गरेको अल्ट्रा–प्रोसेस्ड खाना मानवको स्वास्थ्यका लागि हानिकारक छ भन्ने वैज्ञानिकहरूको विश्वास छ । यो दाबी सय प्रतिशत सही हो अथवा होइन भन्ने प्रमाणित गर्नु वैज्ञानिकहरूका लागि ठूलो चुनौती हो ।
धेरै अध्ययनहरूले अल्ट्रा–प्रोसेस्ड खाना र खराब स्वास्थ्यबीच सम्बन्ध रहेको पत्ता लगाएका छन् । तर अहिलेसम्म यसको कुनै निश्चित प्रमाण फेला परेको छैन ।
तथापि, अनुसन्धानकर्ताहरूले अल्ट्रा–प्रोसेस्ड खाना र स्वास्थ्य सम्बन्धी विभिन्न अवस्थाहरूबीच लगातार एउटा सम्बन्ध पत्ता लगाएका छन् ।
गत वर्ष ब्रिटिश मेडिकल जर्नलमा अल्ट्रा–प्रोसेस्ड खाना खाने लगभग एक करोड मानिससँग सम्बन्धित एउटा अध्ययन प्रकाशित भएको थियो । यी मानिसहरूमा हृदयरोग, मोटोपना, टाइप–२ डायबिटिज र चिन्ताको जोखिम बढी देखिएको थियो ।
तर, यो अध्ययनको बावजुद पनि खानाको प्रशोधनले नै यी रोगहरू ल्यायो अथवा यी खाद्यपदार्थहरू बनाउन प्रयोग गरिएको चिनी, घिउ वा नुनको मात्रा बढी भएकाले यस्तो भयो भन्ने निर्धारण गर्न गाह्रो छ ।
केही पोषण बैज्ञानीकहरूको भनाइ अनुसार डा. निल्सनको अनुसन्धानका केही सीमाहरू छन् । क्याम्ब्रिज विश्वविद्यालयको एमआरसी बायोस्ट्याटिस्टिक्स युनिटका तथ्यांकविद् स्टिफन बर्जेसका अनुसार यो अध्ययन एक प्रकारको सर्वेक्षण हो र यसले अल्ट्रा–प्रोसेस्ड खानाले अकाल मृत्यु ल्याउँछ भन्ने प्रमाणित गर्दैन ।
उनले भने, “यस प्रकारको अनुसन्धानले अल्ट्रा–प्रोसेस्ड खाना हानिकारक छ भन्ने प्रमाणित गर्न सकिँदैन । तर, यसले अल्ट्रा–प्रोसेस्ड खानाको प्रयोग र खराब स्वास्थ्य नतिजाहरूबीचको सम्बन्धको प्रमाण दिन सक्छ ।”
स्टिफन बर्जेसले भने, “अल्ट्रा–प्रोसेस्ड खाना स्वास्थ्य जोखिमको कारण नहोस् भन्ने हुनसक्छ । रोगहरू खराब शारीरिक फिटनेसको कारणले हुँदै गरेका हुन सक्छन् र प्रोसेस्ड खानालाई यसको कारण मानिएको हुनसक्छ । तर, जब हामी विभिन्न देश र संस्कृतिहरूमा अल्ट्रा–प्रोसेस्ड खानाको बढ्दो प्रयोगलाई हेर्छौं, तब खराब स्वास्थ्यका लागि यसलाई जिम्मेवार नमान्न सकिन्नँ ।”
अल्ट्रा–प्रोसेस्ड खाना खाँदै हुनुहुन्छ भन्ने कुरा कसरी थाहा पाउने ?
पछिल्ला ५० वर्षमा खाद्य उत्पादनमा धेरै परिवर्तन आएको छ । कुनै पनि खाना अल्ट्रा–प्रोसेस्ड हो कि होइन भन्ने निर्धारण प्याकेजिङसम्म कति औद्योगिक प्रक्रियाहरूबाट गुज्रिएको छ भन्ने कुराबाट हुन्छ ।
प्रायः यसमा धेरै यस्ता चरणहरू हुन्छन् जसको उच्चारण पनि गर्न गाह्रो हुन्छ । सामान्यतया अल्ट्रा–प्रोसेस्ड खानामा घिउ, चिनी र नुन धेरै हुन्छ । तपाईंले यसलाई फास्ट फुड भन्न सक्नुहुन्छ ।
फलफूल र तरकारीहरू प्रोसेस्ड हुँदैनन् । जबकि प्रोसेस्ड खानाहरू लामो समयसम्म टिकाउ र राम्रो स्वादको लागि हुन्छन् । यसको लागि यसमा नुन, तेल, चिनी थपिन्छ र फर्मेन्टेसन गरिन्छ । आइसक्रिम, प्रोसेस्ड मासु, क्रिस्प्स, ठूलो मात्रामा तयार गरिएको रोटी, केही खाजाका अन्न, बिस्कुट र कार्बोनेटेड पेयपदार्थहरू आदि अल्ट्रा–प्रोसेस्ड खानाको श्रेणीमा पर्छन् ।
डा. रोसी भन्छिन् कि जो मानिसहरू धेरै प्रोसेस्ड खाना खान्छन्, उनीहरू धूमपानजस्ता नराम्रा बानीहरूमा पनि फस्न सक्छन् । बीबीसी हिन्दीबाट ।