site stats
बाह्रखरी :: Baahrakhari
देश
११ महिनामै तयार भएको साततले भव्य बाल अस्पताल (भिडियो)

काठमाडौं । २०८१ असार १० गतेबाटमात्रै काम आरम्भ भएको थियो । वर्षाको मध्य समय । हिमाल, पहाड र तराईमा लगातारको वर्षा थियो । वर्षा अहिलेजस्तै थियो काठमाडौंमा पोहोर पनि !

तर पनि कम्तिमा १५० बढी कामदार दैनिक पुगेर अस्पताल निर्माणको काम थालेका थिए । सरकारले अस्पताल निर्माणका लागि दिएको जग्गा हेर्दा दूरदराजजस्तो थियो । भवन निर्माण भन्दा त्यससँगै रहेको ढिस्को व्यवस्थापनमा समय खर्च लाग्ने देखिन्थ्यो । 

अहिले पनि थुम्कोमाथिबाट हेर्दा साततले भवन तलै देखिन्छ । यसो भित्तातर्फबाट हेर्दा जुनसुकै बेला पानी परे माटो बगेर भवनै पुर्लाजस्तो थियो । डा. भगवान कोइराला नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि सरकारले दिएको जग्गा थियो त्यो ।

...अनि भावुक भए डा. भगवान कोइराला, भक्कानिए मीनबहादुर गुरूङ

काठमाडौंको बूढानीलकण्ठमा दिएको उक्त जग्गाको व्यवस्थापनसहित बाल अस्पताल निर्माण गर्नुपर्ने थियो । जग्गा त सरकारले उपलब्ध गरायो तर जुनसुकै बेला पनि पहिरोले भवन नै पुर्लाजस्तो अवस्था थियो ।

डा. कोइरालाले अस्पताल निर्माणका लागि कहिले आत्मकथा लेखेर बिक्री गरे त कहिले देश विदेशका विभिन्न कार्यक्रममा उपस्थित भएर सहयोग जुटाउन थाले । त्यसैबेला नै डा. कोइरालाले भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई भेटे ।

पहिलो भेटमै कोइरालाको कुरा सुनेर गुरुङ सहयोगका लागि तयार भए ।

नहोउन् पनि किन ? किनकि उनै गुरुङले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा करिब २५ करोड रुपैयाँ खर्च गरेर दुईवटा भवन निर्माण गरिदिएका थिए । दुर्गम जिल्लाका करिब १२ बढी व्यक्तिलाई एमबीबीएसको अध्ययन गराएका थिए आफ्नै खर्चमा ।

समाजसेवाप्रति लगाव भएका मनकारी गुरुङ र अभियानलाई तीव्र गतिमा हार नमानी अघि बढिरहेका डा. कोइरालाबीच जब भेट भयो अनि अस्पताल निर्माणले गति लियो । 

पोहोर ठ्याक्कै यसैबेला अर्थात् वैशाखको अन्तिममा बाल अस्पताल निर्माणस्थल पुगेर अध्यक्ष गुरुङले करिब ४१ करोड सहयोग गर्ने घोषणा गरेका थिए ।

मीनबहादुर गुरुङको सहयोगले भावुक बने डा. भगवान कोइराला, बाल अस्पतालका लागि ४१ करोड सहयोग 

४१ करोड बराबरको साततले भव्य भवन बनाएर हस्तान्तरण गरेका गुरुङले केहीदिनअघि सोही स्थानमा बाह्रखरीले ‘तपाईंले ४१ करोड घोषणा गर्नुभएको थियो, त्यो रकमले पुग्यो त ?’ भनी गरेको प्रश्नमा उनको जवाफ थियो– पैसाको कुरै छाडिदिउँ । मैले ४१ पछि ५१ करोड भनेँ । ५१ पछि ६१ ले पनि नपुग्ने देखेँ । अब भवन भव्य बनोस् । अन्तर्राष्ट्रिय स्तरको भवन बनोस् । त्यहाँ भित्र आवश्यक पर्ने अपरेशन थिएटरदेखि सबै काम सकेर छिटोभन्दा छिटो हस्तान्तरण गर्ने तयारीमा छु ।”

अहिले बेला बेलामा गुरुङ भवन निर्माणस्थल पुगिरहन्छन् । मानिसको ज्यान जोगिनु नै ठूलो उपलब्धि हुने उनी ठान्छन् ।

“त्यसैले मैले सकेसम्म भयो भवनबाट छिटो सेवा प्रवाह होस्, पैसा नहुनेहरु पनि उपचार नपाएर फर्किनु नपरोस् भन्ने चाहेको छु,” उनले भने, “अबको एक, डेढ महिनामा पूर्णरुपमा तयार पारेर भवन हस्तान्तरणको योजना छ ।”
सात तले भवनमा कहाँ के रहन्छ भन्ने सबै बेलिविस्तारपछि डा. कोइरालाको प्रतिक्रिया थियो– असारसम्ममा हस्तान्तरणको चरणमा जान्छ होला ।”

वर्षाको बीचमा पनि यसरी काम भएको देख्दा डा. कोइराला पनि हर्षित छन् ।

एक दानवीरको हुटहुटी...

“यस्तो वर्षाको बेला, अप्ठेरो समयमा पनि कहिले काम रोकिएन,” भाटभटेनीले निर्माण गरिदिएको भवन देखाउँदै डा. कोइरालाले भने, “काम हेर्दा छक्क पर्ने खालको नै छ ।”

कोइरालाको योजना, जाँगर र लगाव देखेर गुरुङ पनि खुसी देखिन्छन् ।

“मैले यो काम अन्तरहृदयदेखि नै गरेको हुँ, त्यसैले खुसी छु,” श्रीमती सावित्री गुरुङलाई सँगै राखेर भाटभटेनी अध्यक्ष गुरुङले भने, “व्यवसायीले यही समाजबाट लिएको हो, मैले यही समाजलाई फिर्ता गर्न पाउँदा खुसी छु ।”

 


 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्