
काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले मूल नेतृत्व थाकेझै देखिएको भन्दै जोस जाँगरसहितको नेतृत्व आवश्यक देखिएको बताएका छन् । सोमबार बीपी कोइराला सोसलिष्ट इन्टरनेसनलले गरेको कार्यक्रममा डा. यादवले ८५ वर्षको संघर्षबाट आएको गणतन्त्रको धरातल कमजोर नभएको भन्दै नेताहरू भने केही हतास देखिएको बताए । नागरिकको निराशाभन्दा ठूलो समस्या आशा जगाउन सक्ने नेतृत्व नहुनु रहेको बताए ।
“१९९५ देखिको ८५ वर्षको संघर्षबाट आएको लोकतान्त्रिक गणतन्त्रको जग कमजोर छैन । शीर्ष नेताहरू देखिएको केही हताशपनले उहाँहरू थाकेझै देखिँदैछ,” डा. यादवले भने, “अब ऊर्जा भएको व्यक्ति नेतृत्वमा आउन आवश्यक छ । अमेरिकाको राष्ट्रपतिमा आउँदै गर्दा बाराक ओबामा थिए नि– ‘आई क्यान’ भन्ने । हो त्यस्तै ऊर्जासहितको नेतृत्व आवश्यक छ ।”
देशमा धेरै उपलब्धि भएको भन्दै युवाहरू निराश भएर मात्र विदेशिएको बताए । पढाइका लागि विदेशिएको युवापुस्ता सक्षम भएर बसेको भन्दै आशा जगाउने नेतृत्व भए पुँजी र प्रविधिसहित स्वदेश फर्कने उनको विश्वास छ ।
“दिनदिनै लाइन लागेर युवा विदेश मात्र गइरहेका छैनन् । उनीहरू पुँजी र प्रविधिसहित फर्किएका पनि छन्,” डा. यादवले भने, आशा जगाउन सक्ने नेतृत्व भयो भने धेरै युवा पर्याप्त पुँजी र प्रविधि लिएर देश निर्माणका लागि फर्कन तयार छन् ।”
उनले हालको निराशा देशमा केही नभएका कारण वा गणतन्त्र खराब भएका कारण नआउको भन्दै उर्जा भर्नसक्ने नेतृत्व नभएको उनको ठम्याइ छ । “म घुम्न निस्किएको थिए । हुलाकी राजमार्ग हुँदै जनकपुरबाट एक घण्टा नहुँदै सिरहा पुगिदो रहेछ । त्यहाँबाट अर्को केही घण्टामा सुनसरी र त्यहाँबाट आधाघण्टामै विराटनगर पुगिन्छ,” डा. यादवले भने, “सुदूरपश्चिम भारत हुँदै जानु पर्थ्यो, अहिले हरेकजसो जिल्लामा मोटरबाटो पुगेको छ । कर्णाली, मुगुमा बस चल्न थालेको छ ।”
आफू राजनीतिमा सक्रिय हुँदा धेरै ठाउँ पैदल वा घोडसवार भएर जानु परेको स्मरण गर्दै, यो केही नभएको हो त भन्दै प्रश्न गरे । डा. यादवले धनुषाभरी २०/२५ जनासँग मात्र गाडी हुने र त्यस्ता गाडी हुनेको को हुन् भनेर चिनिने अवस्था रहेको स्मरण गर्दै अहिले गाडीको संख्या गन्तीमै नरहेको बताए ।
कार्यक्रमहरूमा साइकल लिएर पुग्ने व्यक्ति राम्रै पहिचान बनाउने गरेको स्मरण गर्दै अहिले न्यूनतम सवारी भनेकै मोटरसाइकल बनिरहेको बताए । “यो सबै केही भएको होइन, हिजो नागरिकले लगाउने कपडा र आजको स्तर कहाँ पुगेको छ । विद्यालय पढ्ने हैसियतमा सीमित हुने अवस्थाबाट आज अधिकांश नागरिकको अवस्था फरक बनेको छ,” डा. यादवले भने, “हुनुपर्नेजति हुन सकेको छैन । यसमा कसैले असहमत हुनुपर्ने कारण छैन । तर केही भएको छैन र केही हुँदैन भनेर निराशा बाँड्नुपर्ने अवस्था पनि छैन ।”
आफूले पाउनुपर्ने सबै कुरा पाएको भन्दै सन्तोष प्रकट गरेका डा. यादवले केही हुन नसकेको भए आफ्नै कमजोरी भएको स्वीकार गरे । “मलाई नेपाली कांग्रेसले महामन्त्री र राष्ट्रपतिसम्मको जिम्मेवारी दिइसकेको छ । यहाँभन्दा बढी मैले अपेक्षा गर्ने केही छैन,” डा. यादवले भने, “जति हुन सकेन त्यो मेरै कारण सकेन भन्ने ठानेको छु ।”
राजनीति गर्नेहरूमा पढ्ने र सादगी जीवनको अभ्यास घट्दै गएकोमा चिन्ता व्यक्त गरेका यादवले कांग्रेसीहरूलाई पढ्ने बानी बसाल्न सुझाव दिए । “म उमेरले ८० वर्ष नाघिसके । तपाईंहरूलाई पढाउनका लागि पनि सक्षम छु,” डा. यादवले भने, “सक्नुहुन्छ भने सबैले पढ्नुस् होइन भने कांग्रेसीहरूले बीपी कोइरालाको समयका सातवटा महाधिवेशनका दस्तावेज पढ्नुस् । उहाँको आत्मवृतान्त, जेल जर्नल, जेल डायरी पढ्नुस् ।” डा. यादवले कोइरालाका सहित्यसम्बन्धी ८/१० वटा किताव पनि पढ्न सुझाव दिए ।
गणेशमान र कृष्णप्रसाद भट्टराईका जीवनीसम्बन्धी पुस्तक पढ्न आग्रह गर्दै कम्तीमा आफ्ना अग्रज पुस्ता कस्ता थिए र कसरी नेतृत्वमा पुगेका थिए भन्ने जानकारी राख्न आग्रह गरे । “गणेशमानको जीवनीसम्बन्धी पुस्तक पढ्नुस् त्यहाँ तपाईंले गणेशमानसँगै बीपीलाई बुझ्न सक्नुहुन्छ,” डा. यादवले भने, “किशुनजीले आफ्नो पुस्तकमा बीपीलाई शताब्दी पुरुष भन्नुभएको छ । लोकराज बरालले अंग्रेजीमा ‘रिनाशा’ भन्नुभएको छ ।” उनले बीपी कोइराला नेपाली राजनीतिका लागि सधैँ ऊर्जा भएको र सबैले पढ्दा आफूमा ऊर्जा भर्नसक्ने बताए ।
बीपीले कठिन समयमा देखाएको उर्जा पढेपछि अहिलेको सहज अवस्थामा नागरिकलाई निराशा चिर्ने ऊर्जा प्राप्त हुने बताएका उनले नेपालको राजनीतिक संघर्ष र उपलब्धिका विषय नबुझी युवा पुस्ता भड्कन नहुने बताए ।
नेपालको अर्थतन्त्रको जग कृषि र पर्यटन भएको भन्दै त्यसका लागि विकास वातावरणमैत्री हुनु अनिवार्य रहेको उनको भनाइ थियो । “वातावरणमैत्री विकास भएन भने के हुन्छ भन्ने उदाहरण हेर्न बीपी राजमार्गको रोशी खोला जाँदा स्पष्ट हुन्छ । देशभर धेरै रोशी खोलाहरूको अवस्था बनेका छन्,” डा. यादवले भने, “यस्तो विनाश र दुर्घटना रोक्न वातावरण र विकासको सन्तुलन मिलाउन आवश्यक छ ।”
अन्नको भण्डार तराईको संरक्षण चुरेबाट भइरहेको भन्दै एकसयभन्दा बढी चुरे क्षेत्रका क्रसर उद्योग तराई/मधेसको विनाशकरण बन्न नदिन समयमै सोच्नुपर्ने बताए । चुरे तराई मधेसको प्राणजस्तै रहेको बताएका उनले त्यसको संरक्षण नगरे हाम्रो पारिस्थितिक प्रणाली (इको सिस्टम) र उत्पादन एक साथ समाप्त हुने चेतावनी दिए ।